समानुपातिकतर्फ दाङमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । मंगलवार राति सकिएको मत गणनाको परिणाम अनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली कांग्रेसलाई ७३ हजार ९ सय ९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले जानकारी दिए । कार्कीका अनुसार दोस्रोमा नेकपा एमाले रहेको छ । उसलाई ७३ हजार ११ मत प्राप्त भएको छ । दाङमा माओवादी केन्द्रलाई भने ४३ हजार १ सय ९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताए । त्यस्तै, प्रदेशसभातर्फ कांग्रेसलाई ६९ हजार ६५, एमालेलाई ६५ हजार १ सय ६७ र माओवादी केन्द्रलाई ४६ हजार ८ सय १७ मत प्राप्त भएको कार्कीले सेतोपाटीलाई बताए ।
प्रत्यक्षभन्दा समानुपातिकमा दोब्बर मत बदरदाङमा समानुपातिकतर्फ ९.५९ प्रतिशत मत बदर भएको छ । यो प्रत्यक्षतर्फको भन्दा झन्डै दोब्बर हो ।
दाङमा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा ५.९८ र प्रदेश तर्फ ५.२२ प्रतिशत मत बदर भएको थियो। यसैबीच दाङको निर्वाचन क्षेत्र नं. १ मा नेपाल किसान पार्टी र राष्ट्रिय यथार्थ पार्टीलाई समानुपातिकमा शून्य मतदान भएको जिल्ला निर्वाचन अधिकृत कार्कीले बताए। जिल्लामा ‘नो भोट’ लेखिएका, पत्र लेखिएका, ल्याप्चे लगाएका तथा पैसा समेत टाँसेर हालिएका मत पत्र फेला परेको उनले जानकारी दिए ।
बदर मत धेरै हुनुका कारणमतपत्र परिवर्तन भएकोले मतदाता शिक्षा सामग्री जिल्लामा आउन र जिल्लाबाट गाउँ गाउँमा पठाउन ढिला हुनु, मतदाता शिक्षाको समय कम हुनु, समानुपातिकतर्फ एउटामा खसाल्नुपर्ने मतपत्र अर्कै मतपेटिकामा खसाल्नु, धेरै पार्टीलाई मत संकेत गर्नु, मंसिरको महिना धान भित्र्याउने समय भएको हुँदा मतदाता घरमा फेला नपर्नु र मतदाता स्वंयम सेवक खेतवारीमा पुग्न नसक्नु जस्ता कारणहरूले बदर मतको संख्या धेरै भएको जिल्ला निर्वाचन प्रमुख कार्कीले तर्क गरे ।
दाङमा प्रत्यक्षभन्दा समानुपातिक तर्फ झन्डै दोब्बर मत बदर हुनुलाई भने उनले मतपत्र धेरै ठूलो हुनुलाई नै माने । ‘ प्रदेश नं. ५ अन्तरगत २७ पार्टी समानुपातिकमा थिए , त्यसैले अधिकांश मतदाता यसमै अलमल भएको देखिन्छ’ उनले सेतोपाटीलाई भने । समानुपातिक तर्फ माथिल्लो खण्डमा ८८ र तल्लो खण्डमा ८४ चिन्ह रहेकोले धेरै साक्षर मतदाता समेत अलमलमा परेको उनको तर्क थियो। ‘यतिधेरै चिन्ह भएपछि कसमा मत संकेत गर्ने ? सामान्य मतदाता अलमलमा पर्नु स्वाभाविक नै हो ,’–कार्कीले भने ‘प्राविधिक रूपमा समानुपातिकको यति ठूलो मतपत्र बनाउनु बाध्यता होला तर, त्यो कमजोरी नै थियो।’
उनले निर्वाचन आयोगलाई मात्रै दोषारोपन गर्नुभन्दा बदर मत संख्या धेरै दोष समान रूपमा राजनीतिक दल, तीनका उम्मेदवार, हरेक सचेत नागरिकलाई पनि लगाउनु उपयुक्त हुने धारणा राखे ।