श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी मात्रै नेपाली कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित हुने एक्ला उम्मेदवार हुन्। जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका राज्य मन्त्री चौधरीकै कारण दाङ बामगठवन्धनको ‘क्लिनस्विप’ हुनबाट जोगिएको छ।
पुरानो राप्ती अञ्चल भित्रका ४ जिल्ला प्युठान, रोल्पा, सल्यान र रूकुम (हाल रुकुम पश्चिम र रुकुम पूर्व) सबै स्थानमा बाम गठवन्धनले सबै सिटमा जितेर ती जिल्लालाई ‘लाल किल्ला’ सावित गरेका छन्। प्रदेशसभा सदस्यमा निर्वाचित डिल्लीबहादुर चौधरीकै कारण पुरानो राप्ती बाम गठवन्धनको क्लिनस्विप हुनबाट जोगिएको छ।
त्यसैले आज राप्तीमा चौधरीको क्रेज व्यापक बनेको छ। तर, सल्यान र रुकुम पश्चिम भने हाल प्रदेश नं. ६ अन्तर्गत छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी कम्लहरी मुक्ति अभियानका अभियान्ता पनि हुन्। दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट चौधरीले १७ हजार ३५ मत प्राप्त गरि निर्वाचन भएका थिए। चौधरीका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जगप्रशाद शर्मा (अपार) लाई १४ हजार ६ सय ९८ मत प्राप्त भएको थियो।
अपार पूर्वगृहमन्त्री जनादर्न शर्मा (प्रभाकर)का नाताले भाइ हुन्। प्रभाकरले नै अपारलाई दाङको ३ (१) मा चुनावी मैदानमा उतारेका थिए। मंसिर १० गते रुकुम पश्चिममा निर्वाचन नसकिदै जनार्दन शर्मा (प्रभाकर) सोझै तुलसीपुर आएर अपारको पक्षमा माहोल बनाउन सक्रिय रुपमा लागेका थिए। दुई दिन तुलसीपुरमै बास बसेर उनले विभिन्न स्थानमा घर दैलो गर्नुका साथै चुनावी सभालाई सम्वोधन समेत गरेका थिए। तर पनि ‘अपार’लाई निर्वाचन जिताएर ‘पार’ लगाउने पूर्व गृहमन्त्री शर्माको प्रयासले सार्थकता पाउन सकेन।
प्रदेशसभामा निर्वाचित चौधरीले माओवादीका स्थायी कमिटी सदस्य अपार भन्दा भन्दा २ हजार ३ सय ३७ मत बढी प्राप्त गरेका थिए। दाङको ३ (१) को प्रदेशसभामा चौधरी निर्वाचित भए पनि तीन निर्वाच क्षेत्र रहेको दाङमा अन्य सबै स्थानमा बामगठवन्धनको जितेको छ।
चौधरीको जितमा तुलसीपुरमा पोखिएको काँग्रेसको खुसीकांग्रेको गढ मानिने दाङले धेरै पटक कांग्रेसलाई खुसी दिएको भए पनि यसपटक भने यहाँका मतदाताले कांग्रेस रोजेनन्। नेपाली कांग्रेस भित्र प्रभावशाली मानिने केन्द्रीय सदस्य खुमबहादुर खड्काको गृह जिल्ला दाङमा सबै स्थानमा हार बेहोरेर पनि कांग्रेसी निराश र खिन्न छन्। तर पनि उनीहरुलाई चित्त बुझाउने र मनलाई सानत्वना दिने बाटो एउटा मात्रै डिल्लीबहादुर चौधरीको जित भएको छ।
त्यसैले तुलसीपुरमा आयोजित विजय उत्सवमा सयौंको संख्यामा कांग्रेसी नेता कार्यकर्ता सहभागि थिए। उनीहरुले नेपाली कांग्रेस र डिल्लीबहादुर चौधरीको पक्षमा गगन भेदी नारा लगाएका थिए ।