सल्यानका सबै क्षेत्र वाम गठबन्धनले जितेको छ। प्रदेश नं. ६ को सल्यानमा प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सदस्य सबै सिट वा गठबन्धनले नै जितेको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानले सेतोपाटीलाई दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा बिना विभागीय मन्त्री टेकबहादुर बस्नेत निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहलाई ११ हजार १ सय ३० मतान्तरले पछाडि पार्दै बस्नेत निर्वाचित भएका हुन्।
बस्नेतको यो तेस्रो जित हो। २०६४ र २०७० सालमा भएको दुबै संविधानसभा निर्वाचनमा पनि बस्नेत सल्यानबाटै निर्वाचित भएका थिए। बस्नेतले ४० हजार ८ सय ९७ मत प्राप्त गर्दा शाहलाई जम्मा २९ हजार ७ सय ६७ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयको सचिवालयले जानकारी दिएको छ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा ६ नं. प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएका नेकपा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला विजयी भएका छन्। ज्वालाले १९ हजार ८ सय ३६ र रेग्मीले ११ हजार ६३० मत प्राप्त गरे। ज्वालाको यो दोस्रो जित हो। उनी दोस्रो संविधान सभा निर्वाचनमा पनि निर्वाचन क्षेत्र नं. २ बाटै निर्वाचित भएका थिए।
त्यस्तै प्रदेशसभा १ पनि वाम गठबन्धनकै उम्मेदवार तथा नेकपा एमालका केन्द्रीय सदस्य गुलाबजंग शाह निर्वाचित भएका छन्। उनी पहिलो पटक सांसद निर्वाचित भएका हुन्। शाहले कांग्रेस एकराज डाँगीलाई ९ हजार १ सय १८ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
४२ हजार ४ सय १४ मतबाट शाहले १९ हजार ६ सय ५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डाँगीले १० हजार ५ सय ४० मत प्राप्त गरेका थिए। यहाँ स्वतन्त्र उमेदवार भीमप्रकाश शर्माले ७ हजार ४ सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ।
घ ब्ततबअजmभलतक