प्रदेश नम्बर ६ मा प्रतिनिधि सभा र प्रदेश सभा गरी ३६ निर्वाचन क्षेत्र छन्।
१२ प्रतिनिध सभा र २४ प्रदेश सभा। तर, यसपटकको चुनावमा प्रदेश नं ६ मा वाम गठबन्धनको अगाडि कांग्रेस निरिह देखिएको छ। हालसम्म सार्वजनिक मतपरिणाम अनुसार प्रदेश ६ बाट कांग्रेसबाट एक जनाले मात्र जित हासिल गरेका छन्।
हुम्लाको प्रदेश सभा 'ख'बाट जीवनबहादुर शाही निर्वाचित भएका हुन्। अधिकांश जिल्लाको मतगणना सकिँदा कांग्रेसबाट शाही प्रदेशकै एकमात्र विजयी उम्मेद्वार बन्ने देखिएको छ। सुर्खेत क्षेत्र नं २ मा वाम गठबन्धन विजय नजिक छ। तर सुर्खेत-२ को प्रदेश सभा 'ख'मा गणना बाँकी छ। त्यहाँ कांग्रेसका तप्तबहादुर विष्ट उम्मेद्वार छन्। अन्य जिल्लाहरूको मतपरिणाम सार्वजनिक भइसक्दा शाही एकमात्र निर्वाचित उम्मेद्वार बन्ने सम्भावना उत्तिकै छ।
प्रदेश नं ६ मा ४० सदस्यीय प्रदेश सभा बन्नेछ। जसमा १६ जना समानुपातिक तर्फबाट आउनेछन्। समानुपातिकमा भने कांग्रेसले सिट ल्याउने निश्चित छ।