२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धेरै स्थानमा हार बेहोरेपछि पनि तत्कालीन एकीकृत नेकपा माओवादीले पराजय स्वीकार गरेन। बरु धाँधलीको आरोप लगायो र मतगणना बहिष्कार गर्यो। उसले लामो समयसम्म मतपरिणाम समेत स्वीकार गरेन।
तर, यसपटकको निर्वाचनमा भने पराजित उम्मेद्वारहरूले राजनीतिक संस्कार देखाएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यसपटक आफ्ना प्रतिष्पर्धी बाबुराम भट्टराईलाई फोन गरेर बधाई दिए। जबकी बाबुराम र नारायणकाजी दुवै त्यतिबेला निर्वाचन परिणाम बहिष्कार गर्ने दलका प्रमुख नेता थिए।
निर्वाचन अघि भट्टराईले श्रेष्ठलाई 'वडा अध्यक्ष' को उम्मेद्वार बन्न समेत लायक नभएको आरोप लगाएका थिए। अनि नारायणकाजीले पनि बाबुरामलाई ढुलमुले भएको आरोप लगाएका थिए। तर श्रेष्ठले निर्वाचन परिणामपछि राजनीतिक संस्कार देखाउँदै भट्टराईलाई बधाई दिए।
श्रेष्ठ जस्तै काठमाडौं ४ का विजयी कांग्रेसका गगन थापालाई पराजित उम्मेद्वार एमालेका राजन भट्टराईले भेटेरै बधाई दिए। निर्वाचन अघि गगन थापा माथि प्रचारका क्रममा बम आक्रमण हुँदा भेट्न पुगेका भट्टराईलाई कांग्रेस कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।
तर भट्टराईले निर्वाचन हारेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्दै जारी गरेको विज्ञप्तिमा समेत प्रतिष्पर्धी गगन थापालाई बधाई दिए। राजनीतिक संस्कार देखाउनेमा एमाले र माओवादीका नेता मात्र छैनन्।
[caption id="attachment_114211" align="alignnone" width="960"]
तस्बिर स्रोत:टपेन्द्र कार्कीको फेसबुकबाट[/caption]
कांग्रेस नेता एक कदम अगाडि छन्। कांग्रेसका विश्वप्रकाश शर्माले पराजयपछि सुरेन्द्र (राम) कार्कीलाई अंगालो मारेरै बधाई दिए। अनि ‘सेल्फी’ समेत खिच्न भ्याए। विश्वप्रकाश र सुरेन्द्र कार्कीले निर्वाचन अघि समेत एक अर्कालाई निर्वाचनमा गाली गलौज नगर्ने समझदारी गरेका थिए।
निर्वाचनमा लगाएका आरोप भुलेर नेताहरूले चुनावपछि राजनीतिक संस्कार देखाउनु लोकतन्त्रकै सुन्दर पक्ष हो। गुल्मी १ मा विजयी प्रदीप ज्ञवालीलाई पराजित कांग्रेसका चन्द्र भण्डारीले अबिर लगाइदिए। जबकी अघिल्लो निर्वाचनमा तिनै भण्डारीसँग ज्ञवाली पराजित भएका थिए।
ओखलढुङ्गामा एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका रामहरी खतिवडा निर्वाचनमा आमने सामने भएका थिए। जबकी २०७० को निर्वाचनमा दुवै जना संसदमा थिए। निर्वाचन क्षेत्र गाभिएपछि दुवै एक अर्काको प्रतिष्पर्धी बन्नेमा समेत जानकार थिए। प्रतिष्पर्धामा उत्रँदा रामहरीलाई यज्ञराजले भूकम्प पीडितको त्रिपाल लुकाएको आरोप लगाए। अनि रामहरीले यज्ञराजलाई चर्पी उद्घाटन गरेको आरोप थोपरे। तर निर्वाचन परिणाम सार्वजनिक भएपछि रामहरीले यज्ञराजलाई अंगालो मारे। अनि बधाई दिए।
[caption id="attachment_114213" align="alignnone" width="960"]
तस्बिर स्रोत:टंक बस्नेतको फेसबुकबाट[/caption]
काठमाडौं क्षेत्र नंम्बर १ का विवेकशील साझाका रवीन्द्र मिश्रलाई कांग्रेसका प्रकाशमान सिंहले डलर खाएर चुनाव लड्न आएको आरोप लगाए। तर, निर्वाचन जितेपछि प्रकाशमानलाई फोन गरेर मिश्रले बधाई दिए। जवाफमा प्रकाशमानले मिश्रलाई 'राजनीतिमा कायम रहिरहन' सुझाए।
चुनावी प्रतिष्पर्धाका क्रममा घोचपेच,
व्यङ्ग र आरोप प्रत्यारोपमा उत्रिएपनि निर्वाचन परिणामपछि भने राजनीतिक दलका नेताहरूले परिपक्क संस्कार प्रस्तुत गरेका छन्।