दाङका सबै ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्राप्त पछिल्लो परिणाम अनुसार दाङका तीनै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ बाम गठवन्धनले कब्जा जमाएको छ भने ६ मध्ये पाँच वटा प्रदेशसभा जितेको छ ।
दाङको क्षेत्र नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरी ३४ हजार १ सय ८७ मत प्राप्त गरि निर्वाचित भएका छन्। चौधरीका निकटतम प्रतिद्धन्दी एवम् नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीले २१ हजार ८ सय ४० मत प्राप्त गरेकी थिइन्।
एमालेका दाङ जिल्ला इञ्चार्ज समेत रहेका चौधरीले काँग्रेस नेतृ एवम् पूर्व सांसद समेत रहेका चौधरी भन्दा १६ हजार ३ सय ४७ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन्। यो निर्वाचन क्षेत्रबाट प्रदेशसभा १ मा नेकपा मओवादी केन्द्रका नेता इन्द्रजित थारू १७ हजार २ सय ८४ मत प्राप्त गरि विजयी भएका थिए।
थारूका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार प्रदीप थापालाई ११ हजार ३ सय ९२ मत प्राप्त भएको थियो। थारूले थापालाई ५ हजार ८ सय ९२ मतान्तरले पराजित गरेका थिए।
त्यस्तै यही निर्वाचन क्षेत्रको प्रदेशसभा २ मा नेकपा एमालेका रेवतीरमण शर्माले १९ हजार ३ सय ५४ मत प्राप्त गरि निर्वाचित हुँदा उनका प्रतिद्धन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार जानकिलाल बस्नेतलाई १२ हजार ७ सय ५३ मत प्राप्त भएको थियो। शर्माले बस्नेतभन्दा ६ हजार ६ सय १ मत बढी प्राप्त गरि विजय हासिल गरेका थिए।
निर्वाचन क्षेत्र नं. २शनिबार नै माओवादी केन्द्रका नेता एवम् विना विभागीय मन्त्री कृष्णबहादुर महरा ४० हजार ४२ मत प्राप्त गरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। पूर्वउपप्रधानमन्त्री समेत रहेका महराले प्रतिपर्धीभन्दा १४ हजार १ सय ४५ मत बढी प्राप्त गरको थिए। उनका प्रतिपर्धी नेपाली कांग्रेसका उम्मेदवार एवम् पूर्वसांसद राजु खनाल २५ हजार ८ सय ९७ मत प्राप्त भएको थियो।
यो निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल २० हजार ७ सय २३ मत प्राप्त गरि विजयी भएका थिए। पूर्व सञ्चार मन्त्रीसमेत रहेका पोखरेलले आफ्ना निकटतम प्रतिपर्धीभन्दा ९ हजार ५ सय ५१ मत बढी प्राप्त गरेका थिए। पोखरेलका प्रतिपर्धी नेपाली कांग्रेस दाङका पूर्वसचिव कमल किशोर घिमिरेलाई जम्मा ११ हजार १ सय ७२ मत मात्रै प्राप्त भएको थियो।
त्यस्तै प्रदेशसभा २ मा पनि नेकपा एमालेकै अमरबहादुर डाँगी २१ हजार ४ सय ५० मत प्राप्त गरि निर्वाचित भएका छन्। डाँगीका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई १३ हजार १ सय ९० मत प्राप्त भएको थियो । निर्वाचित डाँगीले न्यौपानेभन्दा ८ हजार २ सय ६० मत बढी प्राप्त गरेका थिए ।
निर्वाचन क्षेत्र नं. ३आइतवार बिहानै सार्वजनिक भएको मत परिणाम अनुसार दाङको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसी ४० हजार २ सय ८७ मत प्राप्त गरि निर्वाचित भएका छन्।
उनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाई मन्त्री दीपक गिरीलाई ६ हजार ५ सय ५७ मतान्तरले पराजित गरेका हुन्। कांग्रेस नेता गिरीलाई ३३ हजार ७ सय ३० मत मात्रै प्राप्त भएको थियो ।
यो निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा भने नेपाली कांग्रेसका उम्मेदवार एवम् श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी १७ हजार ३५ मत प्राप्त गरि निर्वाचित भएका छन्। उनी दाङमा कांग्रेसको तर्फवाट चुनाव जित्ने एक्ला उम्मेदवार हुन्। चौधरीका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य जगप्रशाद शर्मा (अपार)लाई १४ हजार ६ सय ९८ मत प्राप्त भएको थियो। निर्वाचित चौधरीले शर्मा भन्दा २ हजार ३ सय ३७ मत बढी प्राप्त गरेका थिए ।
त्यस्तै दाङ क्षेत्र नं. ३ को २ प्रदेशसभामा नेकपा एमालेका नेता उत्तरकुमार वली २३ हजार ९ सय ७० मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद बुद्धिराम भण्डारीलाई १७ हजार ५ सय ३५ मत प्राप्त भएको थियो। वली र भण्डारी बिचको मतान्तर ६ हजार ४ सय ३५ रहेको दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।