वाम गठबन्धन बनाएर चुनाव लडेको नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा विजयी खाता खोलेको छ।
हिमाली जिल्ला मुस्ताङमा कांग्रेस उम्मेदवार रोमी गौचन थकालीलाई हराएर एमालेका प्रेमप्रसाद तुलाचन विजयी भएका छन्।
यो चुनावमा एमालेले पहिलो सिट नै कांग्रेसबाट खोसेको छ।
परम्परागत रुपमा मुस्ताङमा कांग्रेस बलियो रहँदै आएको थियो। यहाँबाट २०७० को संविधान सभामा रोमी गौचन विजयी भएका थिए। त्यतिबेला उनले तुलाचनलाई २२ मतले हराएका थिए। त्यतिबेला षौचन १४२४ मत ल्याएर विजयी भएका थिए भने तुलाचनले १४०२ मत ल्याएर हारेका थिए।
यसपालि तुलाचनले ३५४४ मत पाएका छन् भने गौचनले ३१८१ मत ल्याएका छन्।
तुलाचन २०४७ सालदेखि कांग्रेसमा आवद्ध थिए।
कांग्रेसले टिकट नदिएपछि त्यतिबेला तुलाचन स्वतन्त्र उम्मेदवार बनेका थिए। बागी उठेकाले उनलाई कांग्रेसले पाँच वर्ष निस्कासन गरेको थियो।
कांग्रेसबाट कारबाहीमा परेपछि उनी एमाले प्रवेश गरेका थिए।