मुस्ताङमा मतगणना सुरू भएको छ। पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको भएको मुस्ताङमा केहीबेर अघि मतगणना सुरू भएको हो। यसैबीच मतपरिणाम जान्न र सुन्न सम्वन्धित दलका कार्यकर्ता जोमसोममा आईरिएका छन्। मतगणनासँगै जोमसोममा चहलपहल बढेको छ।
निर्वाचनको ताजा मतपरिणाम सुन्न र जान्न ईच्छुक दलका कार्यकर्ता र सरोकारवाला मतदाता अहिले सदरमुकाम जोमसोममा खनिएका छन् ।जिसस कार्यालयमा गनिएको मतपरिणाम सुन्न उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका सयौ कार्यकर्ता जोमसोम भित्रिएका हुन्।
हिउँदे चिसोले सुस्ताएको मुस्ताङको जोमसोममा मतपरिणाम सुन्ने टोलिको भिडभाडले रौनक देखिएको छ ।
आफ्ना सयौं कार्यकर्ता एकदिनको बाटो काँटेर मतपरिणाम सुन्न जोमसोम आईपुगेको बामगठबन्धनका साझा उम्मेदवार ईन्द्रधारा बिष्टले जानकारी दिए। उनले यतिबेला हिउँदे चिसोले गाउँ रिक्तिए पनि गाउँमै भएका जागरुक कार्यकर्ता जोमसोम आईपुगेको बताए। ‘गाउँमा सञ्चार सम्पर्कको सुविधा छैन, आफूले प्रयोग गरेको मताधिकार छिटो जान्न चाहन्छन्’, उनले भने, ‘यसपटक पार्टीले सफलता प्राप्त गर्ने भएकाले यहि बिजय उत्सव मनाउने सोचाई छ, कार्यकर्तालाई आवासको व्यवस्था गरेका छौ।’
यतिबेला लोमान्थाङ र दालोमे गाउँपालिकाका कांग्रेस र एमाले समर्थक यूवाहरु जोमसोममा भेला भएका छन्। जोमसोममा एकत्रित भएका बिभिन्न समूहले निर्वाचन कसको पोल्टोमा पर्ला भन्ने जिज्ञासा र बहस समेत सुरु भएको छ ।
जिल्ला मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीका अनुसार करिब ५०० मत गनिसकेपछि प्रारम्भिक मतपरिणाम सार्वजनिक गर्ने जानकारी दिए।
पहिलो चरणमा भएको मतपरिणामले ८ उम्मेदवार मध्ये ३ उम्मेदवारको भाग्यको फैसला गर्ने भएको छ। मुस्ताङमा चर्चित कांग्रेसका रोमी गौचन थकाली र एमालेका प्रेम प्रसाद तुलाचनको चुनावी मतपरिणामलाई मुस्ताङवासीले चाँसोको रुपमा लिएका छन्।
यहाँ उम्मेदवारको जितको सुनिश्चितता मात्र होईन शिङ्गो पार्टी अस्तित्वको लडाईसमेत भएको यहाँका राजनितिक बिश्लेषकहरु बताउँछन्। एमाले र कांग्रेस बीच नै मुस्ताङमा मुख्य प्रतिस्पर्धा भएको छ। राप्रपाले यहाँ उम्मेदवारी दिए पनि निर्वाचनमा खासै चर्चा देखिएको छैन।
मुस्ताङको ३७ निर्वाचनक्षेत्रमा कुल ९ हजार ४ सय २७ मतदात छन् ।जसमध्ये ६ हजार ७ सय ७३ मत खसेको हो ।यसपटक हिउँदे चिसोको कारण जम्मा ५८ प्रतिशत मात्र मत खसेको हो ।