बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि दाङमा व्यापक उत्साह देखिएको छ। मतदाता बिहान ६ नबज्दै मतदान केन्द्रमा गएर प्रतिक्षा गरिरहेका थिए। समय सुरू हुनु पूर्व नै मतदाताहरु लाइनमा बसेर मतदानको लागि व्यग्र प्रतिक्षा गरिरहेको देखिन्थे ।
तुलसीपुरस्थित मावि सेन्टरमा मतदान केन्द्रमा पुग्दा बिहान ६ नबज्दै मतदाताहरुको लामो लाईन लागि सकेको थियो। मतदान केन्द्रमा प्रवेश नदिइएको भए पनि मतदाताहरु गेट बाहिरै महिला र पुरूषको अलग–अलग लाईनमा बसेर मतदानको प्रतिक्षा गरिरहेका थिए।
त्यस्तै तुलसीपुरको अरनीको मैदानस्थित मतदान केन्द्रमा पुग्दा पनि त्यस्तै दृष्य देखिएको थियो। दाङका बजारहरु भने आज सुनसान छन्। यसैबीच बिहानैदेखि नेपाली सेनाले बजारमा पैदल गस्तिसमेत गरिरहेको छ।