रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन्।
बुधबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले सो कुराको स्पष्ट पारेका हुन्।
उनले भने,‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरूलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ।’
रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरूको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे। मन्त्री प्रधानले थपे,‘भोलि हुने निर्वाचनमा अत्यधिकभन्दा अत्यधिक मात्रामा सहभागिता होस्।’
उनले अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सयभन्दा बढीलाई पक्राउ गरिएको र मुद्दा चलाइएको बताए।
उनले भने,‘नेपाली सेना ‘हाई अलर्ट’मा छ, हामीले निर्वाचन सुरक्षा बलियो बनाएका छौं, कहीँकतै घट्ना भए त्यसलाई हल गर्नको लागि सरकारले आवश्यक निर्देशन दिएको छ, गोली चलाउने आदेश दिएका छौं।’ भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए। त्यस्तै, पहिलो र दोस्रो चरणको निर्वाचन गरेर ६४ हजार २० सेना परिचालन हुने पनि उनले जनाए।
मन्त्री प्रधानले भोलि हुने निर्वाचनमा साम, दाम, दण्ड र भेदबाट मुक्त भएर मतदान गर्न समेत आम मतदाताहरूलाई आग्रह गरे।
मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गरेका हुन्। ‘पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छ,’– उनले भने।
मन्त्री प्रधानले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको बताए। जनताको मतबाट बनेको संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन हुन लागेकाले जनता निर्वाचनप्रति उत्साहित भएको मन्त्री प्रधानले बताए।