प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बिहिबार ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरूलाई आग्रह गरेका छन्।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्। उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताहरूको लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु।’ यद्यपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरूप्रति खेद व्यक्त गरे। यादवले थपे,‘म यस्ता घटनाहरूप्रति दुःख व्यक्त गर्दछु, आयोग घटनाको भर्त्र्सना गर्छ।’
साक्षात्करमा उनले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरूले निर्वाचनलाई पर्वको रूपमा लिएको समेत बताए। उनले भने,‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरूमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रूपमा लिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु।’
यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने,‘मतदाताहरूलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाइ भए ती सबै समस्याहरू हल गर्नको लागि हामी तयारी अवस्थामा बसेका छौं।’ आयोगका पदाधिकारीहरू निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सूक्ष्म अनुगमन गर्ने काममा व्यस्त रहेको समेत यादवले जनाए।
मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरू केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरू तयारी अवस्थामा रहेको यादवले जनाए।
त्यस्तै, मतगणनाको लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको उनले स्पष्ट पारे। ‘आवश्यक निर्देशिका मात्रै होइन, मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भूगोल र स्थान हेरेर उपयुक्त ठाउँमा गणना गरिने जानकारी गराइन्छ’ उनले थपे।
कतिपय उम्मेदवारहरूले त फोन तथा सामाजिक सञ्जालबाट समेत चुनावी प्रचारप्रसार गरेर भोट माँग्ने काम गरिरहेका छन् नि यसलाई कारवाही गर्ने वा नियन्त्रण गर्नुहुन्छ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो अब मोर इथिक्सभित्र पर्छ, आयोगको आग्रह छ कि आचारसंहिता पालना गर्नुहोस्, मौन अवधिको पूर्ण पालना गरेर सभ्य नागरिक बन्नुहोस्, यस सम्बन्धमा कानूनको अभाव छ, मोरल भ्याल्यूभित्र पर्ने कुरा हो।’
उनले उम्मेदवारहरूले आर्थिक चलखेल गरेर मत किन्ने प्रयास गरिरहेका छन् भनेर सोधिएको प्रश्नमा आक्रोशयुक्त टिप्पणी गरे। उनले थपे,‘आर्थिक चलखेल भन्ने शब्द नै प्रयोग नगर्नुहोस्, यो त मतदाताहरूलाई बद्नाम गर्ने कुरा हो, हाम्रा मतदाताहरू लेनदेन गर्नुहुन्न, अफवाह कुरा धेरै नगरौं।’
राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षक संघसंस्थाहरूले काम गरिरहेको अवस्थामा यस्तो कुरा गर्दा कस्तो नराम्रो सन्देश जान्छ भन्दै यादवले गलत र अफवाह फैलाउने कुरा कसैलेपनि गर्न नहुने धारणा राखे।
पहिलो चरणको निर्वाचनमा हिमाली, विगट स्थानमा हुँदापनि ६५ प्रतिशत मत खसेको भन्दै दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढी मत खस्ने यादवको अनुमान थियो।