कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी कांग्रेस नेतृ आरजु देउवाले कैलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौती देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छन्।
गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कसले बाजी मार्ला? भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरू भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ।
आरजुले विकासको प्रचुर सम्भावना भएर पनि विकास हुन नसकेको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा धेरै विकास गर्नुपर्ने बताइन्। कैलालीको गौरी भन्सार नाकालाई व्यवस्थित गर्दै ठूलो नाकाको रूपमा विकास गर्न सके देशकै महत्वपूर्ण नाकाको रूपमा स्थापित हुने बताइन्।
सम्भावना धेरै भएकाले काम गर्ने हो भने प्रदेश नम्बर ७ सबैभन्दा धनी प्रदेश बन्न सक्ने उनको भनाई छ। ‘यहाँभन्दा धेरै सम्भावना कहीँ पनि छैन। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका थुप्रै आयोजना यस प्रदेशमा छन् । जलविद्युत् र सिँचाईको प्रचुर सम्भावना छ’ आरजुले भनिन्।
आफूलाई जनताले मौका दिएको खण्डमा पुरुषलेभन्दा बढी काम गरेर देखाउने उनले दाबीसमेत गरिन् ।
‘म महिला हो। मलाई चान्स दिनुस् । पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु।’
नेपालका महिलाहरू नेतृत्वमा पुग्न सक्षम रहेको उनको भनाइ थियो । ‘चान्स मात्रै दिनुपर्छ । हाम्रा महिला जति सक्षम अरु छैनन्’ उनले भनिन् ।