जिल्ला समन्वय समिति मुस्ताङको कार्यालयमा भण्डारण गरि राखिएको मतपेटिका संरक्षण र रेखदेख गर्ने कुरुवालाई माईनस डिग्री तापक्रमको चिसोले सकस पारेको छ।
पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सहभागि राजनीतिक दलले आवश्यक प्रतिनिधि कुरूवा राख्न सक्ने प्रावधान निर्वाचन आयोगको निर्देशानुसार मुख्य निर्वाचन कार्यालयले यस्तो व्यवस्था मिलाएको हो। यसअघि जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन कार्यालय र राजनीतिक दलबीच भण्डारण गरिएको जिसस कार्यालयमा आफ्ना प्रतिनिधिले निगरानी गर्न सक्ने सहमती गरेका थिए।
सहमतिमा मतपेटिका भण्डारण गरिएको कोठामा चौबिसै घण्टा सिसी क्यामेराले रेकर्ड गरेर राख्ने र कुनै संङ्का लागेको खण्डमा सिसी क्यामेराको रेकर्ड हेर्न सक्ने समेत ब्यवस्था मिलाएको प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिए लगत्तै पहिलो चरणको मतगणना सुरु गर्ने बताएपछि ३२ जिल्लामा भएका निर्वाचनको मतपेटिका होल्डमा राखिएको हो। मुस्ताङको जिसस कार्यालयमा होल्डमा राखिएका मतपेटिकाको निगरानी गरेका सुरक्षाकर्मी र राजनीतिक दलका कुरुवालाई माईनस तापक्रमको चिसोले शास्ती बनाएको हो। थासाङ गाउँपालिका २ कोवाङका निसान तुलाचन लुगलुग काँप्दै मतपेटिका कार्यालय भएको जिसस पेटीमा धर्ना दिईरहेका देखिन्थे। उनले चिसो मौसमले मतपेटिकाको संरक्षणमा धर्ना दिएर बस्न गाह्रो परेको सुनाए ।‘२४ घण्टे डिउटी दिदैदौ छौ, ६ घण्टा बाँकी छ’ उनले भने ‘यसपटकको चुनावले जनतालाई शास्ती बनाएको छ, एकै पटकमा चुनाव गरिदिएको भए समस्या पर्ने थिएन।’
जिसस कार्यालयको पेटिमा डल्लफ ओछ्याई सिरक ओढेर बसेका अर्का प्रतिनिधि सुमित गौचनले हिँउँदै निर्वाचनले मतदातादेखि सम्पूर्णलाई शास्ती तुल्याएको दुखेसो पोखे। ‘तापक्रम माईनस छ, चिसोले मुटु नै हल्लाउँने गर्छ’, उनले भने, ‘यहाँ हिटर जोडिएको छैन, आगो ताप्नु पनि छैन, सिरक खाँपेरै बस्नु परेको छ।’
जिससको कार्यालयको भित्री पेटिमा दिउँसै सिरक ओढेर बसेका मार्फाका सन्तोष परियारले जाडोले गर्दा मतपेटिका कुरुवा बस्न समस्या परेको सुनाए। ‘१ दिन होईन ,२ दिन होईन ,१० दिन सम्म कुरुवा बस्नेलाई समस्या परेको छ’, उनले भने, ‘हिमाली र उच्चपहाडी जिल्लामा पछि दोस्रो चरणमा निर्वाचन गरिदिएको भए बेश हुन्थ्यो, बेशीतर्फ यस्तो समस्या नहोला ।’
मार्फाकै अर्का कुरुवा सन्दिप परियारले २४ घण्टाको रोटेसन मिलाएर मतपेटिकालाई धर्ना दिएर बसेका बताए। ‘सबै पार्टीका कार्यकर्ताले चिसोको शास्ती व्यहोर्नु परेको बाध्यता छ’, परियारले भने, ‘यस्तो प्रकारको चुनाब कहिल्यै व्यहोरिएन,आयोगले यतिलामो फेरोमा निर्वाचन गर्नु उपयूक्त होईन ।’
पहिलो चरणमा भएको हिमाली र उच्चपहाडी जिल्ला अन्तर्गत ३२ जिल्लाका ३७ निर्वाचनक्षेत्रमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भएका हुन्। जसमध्ये हिमालपारी मुस्ताङको ३७ मतदानकेन्द्रमा भएको मतपेटिका सोमबार साँझ सदरमुकाम जोमसोम आईपुगेका थिए ।एक प्रतिनिधि र दुई प्रदेशसभा भएको मुस्ताङको ३७ मतदानकेन्द्रमा भएका मतदानको १ सय ११ थान मतपेटिका जिल्ला समन्वय समितिमा भण्डारण गरिएको छ।
भण्डारण गरिएका मतपेटिकाको मूलकोठामा नेपाली कांग्रेस र नेकपा एमालेले आ-आफ्ना ताल्चा लगाएका छन् भने मूख्य निर्वाचन कार्यालयले पनि व्यक्तिगत ताल्चा लगाएको छ। सम्पूर्ण मतपत्र रुजु गर्ने कार्य सकेर सुरक्षित ताल्चा मारेर ला छाप लगाईएको र मतपेटिका भएको स्थानलाई नेपाली सेना र नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीले २४ सै घण्टा निगरानी गरेकाले मतपेटिकाको संरक्षमा कुनै अबरोध नहुँने मूख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीले जानकारी दिए।
पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपेटिका जिसस कार्यालयमा थन्क्याएको ६ दिन बितिसकेको छ। यता पहिलो चरणमा भएको निर्वाचनमा कसले बाजी मार्ला भन्ने जोड घटाउले मुस्ताङको माहोल तताएको छ। मुस्ताङको ३ स्थानीयतह जित्न सफल नेपाली कांग्रेसले यसपटक पनि ३ वटै स्थानमा आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ।
अर्कोतर्फ नेकपा एमालेले पनि ३ वटै स्थानमा बिजय सुनिश्चित भएको घोषणा गरेको छ। नेपाली कांग्रेसका यूवा नेता गणेश शेरचनले कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन जितिसकेको र यसलाई २१ गतेको मतगणनाले पूष्टि गर्ने उल्लेख गरे।
एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचनले २ वटै प्रदेश सभा २ सय देखि ५ सय मतको अन्तरले जितिसकेको र प्रतिनिधिसभातर्फ १ सय देखि २ सय ५० मतअन्तरले एमालेले अग्रता लिने स्पष्ट पारे।‘यसपटक जनताले एमालेलाई ठूलो बिश्वास गरेका छन्’, उनले भने, ‘कांग्रेस आशावादी हुँनुलाई पार्टीले शहज रुपमा लिएको छ।’
५ महिनाअघि भएको स्थानीयतह निर्वाचनमा नेकपा एमाले एक स्थानीयतह मात्र जितेको हो ।उपल्लो मुस्ताङको दालोमे गाउँपालिकाबाट सोतन्त्र उम्मेदवार बनेर अध्यक्ष जितेका लोप्साङ छोम्फेल बिष्ट एमाले प्रबेश गरेपछि एमाले बलियो देखिएको अध्यक्ष गौचनको भनाई छ ।