रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक संयोग जुरेको छ, घनश्याम भुसाल रोज्ने कि दीपक बोहोरा ?
वामपन्थी गठबन्धनबाट एमाले उपमहासचिव भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहोरा चुनावी मैदानमा छन्।
रुपन्देही सदरमुकाम भैरहवासहितको भूभाग समेटिएको यो निर्वाचन क्षेत्रमा यसपटक सबैको चासो बन्दैछ।
चुनाव लक्षित देशव्यापी अभियानका क्रममा बहसमा सहभागी हुँदै उम्मेदवार बोहोराले आफ्नो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनप्रति मतदाताको आकर्षण बढेको दाबी गरेका छन्।
नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहोराले कांग्रेसका कार्यकर्ताले आफूलाई पूर्ण समर्थन गरेकाले आफूले चुनाव जित्ने बताएका छन्।
विगतमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेका २ क्षेत्रलाई गाभेर अहिले एउटै क्षेत्र बनाएकाले त्यहाँ लोकतान्त्रिक गठबन्धनमा मतदान गर्ने मतदाताको बाहुल्यता बढी रहेको बोहोराको तर्क छ।
‘७० सालको चुनावमा दीपक बोहोराले जितेको क्षेत्र र बालकृष्ण खाँडले जितेको क्षेत्रलाई अहिले एउटै क्षेत्र बनाइएको छ। चुनाव जितेपछि मैले र खाँड दुवैले जनताको हितमा काम गरेका छौँ । यो ठाउँमा वामपन्थीको पकड छ भनेर कसरी भन्न सकिन्छ ?’ बोहोराले प्रश्न गरे।
जनताले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध रहेको बोहोराले बताए।
आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार घनश्याम भुसाललाई लक्षित गरी बोहोराले जनताले किताब पढ्ने नेतालाई नभई विकास गर्ने नेतालाई मतदान गर्ने बताए।
२०५३ सालमा आफूले नै समर्थन गरेर भुसाललाई सासंद बनाएको स्मरण गराउँदै बोहोराले २३ महिना सासंद बन्दा भुसालले केही पनि काम नगरेको आरोप लगाए।
‘किताब लेख्ने कुरा होइन। जनताले बाटो बनाउने, पानी पुर्याउने, अस्पताल बनाउने, स्कुल बनाउने नेता खोज्छन्। जनताले किताब अध्ययन गर्नका लागि कसैलाई चुनाव जिताउँदैनन्’ बोहोराले भने।
‘विकास गर्ने नेतालाई जनताको माया चाहिन्छ। जनताले विकासको निरन्तरता खोज्छन्। यदि कसैले विकासको निरन्तरता दिन सक्छ भने दिपक बोहोराले दिन सक्छ’ उनले भने।
नेपाली जनता संविधान कार्यान्वयनको पक्षमा रहेकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने विश्वास बोहोराले लिएका छन्।