माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनबाट कांग्रेसभित्रका शक्ति पनि खुसी भएको बताएका छन्।
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
उनले भने, ‘वाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुशी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्ति पनि खुशी छन्।’
अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गरे।
सम्बोधन गर्ने क्रममा उनले भरतपुर महानगरपालिकाको वडा नं २४ का लालपूर्जा नहुने दीपचोकबासीलाई लालपूर्जा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले वामपन्थी सरकार आएपछि यहाँका स्थानीयबासीको दुख सुखमा साथ दिई बाटोघाटो बनाउने, पुल निर्माण गर्ने लगायतका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो पार्टीको पहिलो प्राथमिकता विकास रहेको उनले बताए।
कृषि क्षेत्रमा आत्मनिर्भर हुनको लागि कृषिमा आधुनिकीकरण र विविधता आवश्यक रहेको उनले अौँल्याए।