प्रधानमन्त्री शेरबहादुर देउवालले कम्यूनिष्ट शासन तानाशाही हुने बताएका छन्। दाङको तुलसीपुरमा मंगलबार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा कम्युनिष्ट शासन आए बोल्न, लेख्न र अन्याय पर्दा न्यायसमेत पाइदैन।’
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले डरत्रासयुक्त एकदलीय र तानाशाही कम्युनिष्ट व्यवस्था रोज्ने कि जनता मालिक हुने संघीय लोकतान्त्रिक व्यवस्था रोज्ने त्यो फैसला गर्ने अधिकार जनतामा आएको बताए। उनले जनजाति, आदीवासी, थारू सबै अटाउने समावेशी संविधान कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्मरणसमेत गराए।
तर, कम्युनिष्टहरू त्यो हटाएर एकदलीय र नियन्त्रित राष्ट्रपतीय शासन प्रणाली ल्याउन चाहेको देउवाको आशंका थियो। ‘यो संविधान च्यातेर उनीहरु एक दलीय शासन ल्याउन चाहान्छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘काँग्रेसले चाहेको जस्तो जनतालाई मालिक मान्ने शासन रोज्ने कि एक दलीय कम्युनिष्ट शासन रोज्ने। यो जनताको हातमा छ।’
कम्यूनिष्ट शासन आए जनता निर्धक्क भएर आफ्ना कुरा राख्न र चित्त नबुझेका कुरा विरोध गर्नसमेत नपाउने प्रधानमन्त्री देउवाले दाबी गरे।
झन्डै दश मिनेट सम्बोधन गरेका प्रधानमन्त्री देउवाले कम्यूनिष्टले यो बनाउँछौं त्यो बनाउँछौ भन्दै गलत कुरा गरिरहेको आरोप लगाए। देशमा विदेशी पूँजी भित्रिएमा र लगानीको वातावरण बने मात्रै देशको विकास हुने उनको भनाई थियो। कांग्रेसले मात्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वास आर्जन गरेको हुँदा कांग्रेस बिना देश विकास सम्भव नहुने दाबी गरे।
यसैबीच उनले दाङलाई मध्यपश्चिमकै केन्द्रको रुपमा विकास गर्ने, दाङमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने, बाटो कालोपत्रे, सिँचाई सुविधा किसानका खेतमा कांग्रेसले पुर्याएरै छोड्ने दाबी गरे। प्रधामन्त्री देउवाले वेरोजगार युवालाई रोजगारी सृजना गर्ने र वेरोजगार युवालाई भत्ता उपलब्ध गराउन तथा जेष्ट नागरिकलाई भत्ता बढाउनेसमेत आश्वासन दिए।
वामगठवन्धन राष्ट्रका लागि अनिष्ट हो – पौडेलकार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बामगठवन्धन राष्ट्रका लागि अनिष्टको शंकेत भएको बताएका छन्। ‘शोषण र उत्पीडनको नयाँ वर्ग जन्माउने काम कम्यूनिष्टले गर्छन्,’ नेता पौडेलले भने, ‘अहिलेसम्म देशलाई विग्रहमा फसाउने र जातीय तथा क्षेत्रीयमा फसाउने उनीहरु नै हुन्।’
मुलकलाई फेरि कम्युनिष्टहरुले राष्ट्रपतीय एकदलीय शासन प्रणाली र साम्यवादको बाटोमा लैजान चाहेको हुँदा सचेत रहन उनले आग्रह गरे।
नयाँ शक्तिका उम्मेद्वार कांग्रेस प्रवेश नयाँ शक्ति नेपालका जिल्ला संयोजक एवम् उक्त पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (१) का लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार नेत्रलाल भट्टराई (नारायण) नेपाली कांग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छन्। यस्तै नेकपा माओवादी केन्द्र दाङकी जिल्ला कमिटी सदस्य माया राना मगरलाई प्रधानमन्त्री देउवालगाएतका नेताले फूलमाला लगाएर पार्टीमा भित्र्याए।