दाङको तुलसीपुरमा मंगलबार भएको बम विस्फोटनमा परि नौजना घाइते भएका छन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २३ वर्षीया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गाउँपालिका वडा नं. ४ निवासी ४० वर्षीया देवीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ४० वर्षीय बमराज सुनारको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी सुधिरराज शाहीले जानकारी दिए।
उनीहरू तीनै जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको छ। अन्य घाइतेहरूमा म्यादी प्रहरी तुलसीपुर १८ निवासी १९ वर्षीय विनोद चौधरी, बबई गाउँपालिका वडा नं. ६ निवासी १८ वर्षीय सुनिता चौधरी, सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नं. २ निवासी ४५ वर्षीया नरपनी बुढाथोकी, बबई गाउँपालिका वडा नं. ६ निवासी ३६ वर्षीय नेवबहादुर खत्री, शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ५० वर्षीय हेमराज रामजाली र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी २३ वर्षीय विनोद चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगेलगतै त्यसको झन्डै डेढसय मिटरको दूरीमा मुख्य बजारमा बम विस्फोट भएको थियो।
यसैबीच घटना लगतै राप्ती अञ्चल अस्पतालमा बिरामीको अवस्था बुझ्न गएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरूले कार्यक्रम असफल पार्न एउटा घृणित कार्य गरेको बताए । अस्पतालमै पुगेका कांग्रेस नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले सर्वसाधरणलाई लक्षित गरि बम विस्फोट गराउनु कायरता भएको प्रतिक्रिया दिए। बिरामीको अवस्था बुझ्ने प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनी लगायतका उच्च सरकारी अधिकारी पुगेका थिए ।