प्रदेश नं. ५ अन्तरगतको रोल्पा र रुकुम पूर्वका सम्पूर्ण मतपेटिकाहरू सुरक्षित भण्डारण गरिएको छ।
प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले सम्पूर्ण मतपेटिकाहरू सुरक्षित भण्डारण गरिएको बताएका हुन्।
मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको सबै मतपेटिकाहरू मंगलबार बिहान रोल्पाको उवा र गामबाट हेलिकप्टरमार्फत लिबाङ ल्याइएको उनले बताए। किन मतपेटीका संकलन गर्न ढिलाई भएको हो ? भन्ने प्रश्नगर्दा एआईजी पुडासैनीले हेलिकप्टरले बाटो बिराएको हुँदा ढिलाई भएको जानकारी दिए । ‘सोमबार रोल्पाको थवाङबाट गामको मतपेटी लिनजान भनी उडेको हेलिाकप्टर बाटो बिराएर पूर्वी रुकुमको हुकाम र मैकोट पुगेछ र त्यहीँका मतपेटी ल्याएर आयो’, एआईजी पुडासैनीले भने ‘त्यसैले ढिलाई भएपनि मंगलबार बिहानै उताका मतपेटी उतै र रोल्पा उवा र गामको मतपेटी ल्याउने काम पूरा गरिएको हो।’
यसैबीच, रोल्पाका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले रोल्पाको विकट स्थान थवाङ गाउँपालिका अन्तरगतका वडा नं. ३ र ४ का मतपेटीका मंगलबार बिहान हेलिकप्टरमार्फत ल्याएपछि अब रोल्पाको सबै मतपेटिका भण्डारण भइसकेको बताए।
दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइएको उनले बताए। रोल्पामा १ लाख २७ हजार ६ सय २९ मतदाता रहेकोमा ७० हजार १ सयबढी मत खसेको मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले जानकारी दिए। तर, उनले स्थानीय निकायको निर्वाचनभन्दा मंसिर १० गतेको निर्वाचनमा ११ हजार बढी मतदाता भएपनि १० हजार मत कम खसेको पनि जानकारी दिए।
प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले निर्वाचन आयोग लगायत सबै दलको ताल्चा लगाएर मतपेटी सुरक्षित राखिएको जानकारी दिए। ‘मतपेटी राखेको स्थानमा चारतहको सुरक्षा घेराले सुरक्षा दिनेछ,’–एआईजी पुडासैनीले भने ‘ त्यसका साथै सबै दलका प्रतिनिधिले समेत त्यसको रातदिन सुरक्षा गर्नेछन्।’
प्रदेश नं. ५ मै पर्ने रुकुमको नयाँ जिल्ला रुकुम पूर्वमा सबै मतपेटीका संकलन कार्य पूरा भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले सेतोपाटीलाई बताए।
उनले रुकुम मैकोटको रुकमणी माविमा सबै मतपेटी सुरक्षित रुपमा पुर्याइएको बताए। ४२ वटा मतदान केन्द्र रहेको रुकुममा २७ हजार बढी मतदाता थिए भने त्यहाँ ६५ प्रतिशत मतदान भएको प्रजिअ सापकोटाले बताए।
उनका अनुसार रुकुम पूर्वमा १८ हजार ३४ मतदान थिए। पछिल्लो समय प्रदेश नं. ६ अन्तरगत परेको राप्ती अञ्चलको एउटा जिल्ला रुकुम पश्चिममा पनि सबै मतपेटी सुरक्षित रुपमा संकलन गरि सकेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले जानकारी दिए । कुल १ सय ११ मतदान केन्द्रमध्ये १ सय ९ मतदान केन्द्रमा मात्रै निर्वाचन भएको थियो। मतपेटीकामा आगो लागेपछि दुईवटा मतदान केन्द्रमा फेरि निर्वाचन हुने भएको छ । त्यहाँ ६२. २१ प्रतिशत मतदान भएको उनले जानकारी दिए ।