चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन्।
मंगलबार चितवनमा आयोजित चुनाव लक्षित विशेष साक्षात्कारमा बोल्दै एमालेका तर्फबाट उम्मेदवार बनेका पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरेका हुन्।
‘नेपाली जनता एक पटक कम्युनिष्टहरूका शासन वा वाम गठबन्धनको शासन हेर्न आतुर भएको अवस्था छ’ उनले भने।
वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हाँस्यास्पद भएको उनको तर्क छ।
आवधिक निर्वाचन, विधिको शासन, स्वतन्त्र न्यायपालिका र मानव अधिकारको रक्षाका विषयमा आफूहरू प्रतिबद्ध रहने उनले बताए । लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारेका छन्।
चितवन जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको दाबी गर्दै पोखरेलले अझै काम गर्न बाँकी रहेको बताए।
माओवादी अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा व्याख्या गर्दै चितवन एमालेका अध्यक्षसमेत रहेका पोखरेलले प्रचण्डलाई जिताउनका लागि लोकतान्त्रिक शक्तिसमेत लागि परेको दाबी गरे। प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाइ छ।
आफ्ना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई आफूले दाजुका रूपमा सम्मान गर्ने बताउँदै पोखरेलले अधिकारीलाई १५ हजार मत अन्तरले हराउने दाबी गरे । ‘उहाँ प्रतिस्पर्धामा हार्नुहुन्छ। मलाई पूर्ण विश्वास छ। उहाँ स्वयम बाहिरको मान्छे, यहाँको मतदाता समेत होइन उहाँ’ पोखरेलले भने ।