प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू मंगलबार दाङ आउने भएका छन्।
प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताहरू चुनावीसभालाई सम्बोधन गर्न दाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ। जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले सोमबारदेखि नै चुनावीसभा हुने स्थल र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सेतोपाटीलाई जानकारी दिइन् ।
दिउँसो एकबजे तुलसीपुरको अरनीको मैदान र घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयको दक्षिण भागमा चुनावीसभाको आयोजना गरिएको छ। कांग्रेसको बृहत चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा, वरिष्ट नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, प्रचार विभाग प्रमुख बालकृष्ण खाँण लगायतका नेताहरू दाङ आउन लागेको हुँदा सुरक्षा चेकजाँचमा कडाइ गरिएको एसपी सिंहले बताइन्।
सोमबार मात्रै दाङमा कांग्रेसका एकजना उम्मेदवारलाई लक्षित गरि बम विस्फोट भएको थियो । दाङ निर्वाचन क्षेत्र नं. २ (२) प्रदेशसभाका उम्मेदवार भरतबहादुर न्यौपाने सवार गाडीलाई लक्षित गरि तुलसीपुुर उपमहानगरपालिका वडा नं. १९ मा बम प्रहार भएको थियो। जिल्लाको पहाडी क्षेत्र छिल्लीकोटवाट प्रचारप्रसार गरि फर्कदै गरेका न्यौपाने लगायतका प्रचार समूहलाई लक्षित गरि बम प्रहार भएको हुँदा समेत सुरक्षा सर्तकतामा कडाइ गरिएको हो।
चुनावीसभा हुने स्थल तुलसीपुरको अरनीको मैदानमा धुलो नउडोस् भन्नका लागि पानी राखिएको छ। घोराहीमा पनि मञ्च व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए। तुलसीपुरको अरनीको मैदानमा भइरहेको मञ्च व्यवस्थापन कामको निरीक्षणका लागि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी आफैँ खटिएका छन् ।
गिरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् । उनले तुलसीपुरमा आयोजित चुनावीसभामा २०औं हजार मानिस आउने दाबी गर्दै त्यही अनुरुपको व्यवस्थापन गरिएको बताए । देउवा तुलसीपुरपछि घोराहीको सभालाई सम्वोधन गरेर लमहीमा कार्यकर्ता भेटघाट गर्न पुग्ने जानकारी कांग्रेस दाङले दिएको छ । तर, सुरक्षा सम्बेदनशीलतालाई देखाउँदै तुलसीपुर–घोराही र लमही पुग्न प्रधानमन्त्रीले हेलिकप्टर नै प्रयोग गर्ने जानकारी दिइएको छ। तुलसीपुरदेखि घोराही २४ किलोमिटर र घोराहीदेखि लमही पनि समान २४ किलोमिटरको दूरीमै पर्दछ। तुलसीपुर र घोराही समतल स्थल छ र यहाँ कुनै सुरक्षा चुनौती छैन भने घोराही र लमही सडक खण्डमा भने पहाडी र जंगलको बाटो छ।