पाँचथर जिल्लाका सबै मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम फिदिम ल्याइसकिएको छ।
जिल्लाका ७ गाउँपालिका र एक नगरपालिकामा रहेका १ सय मतदानस्थलका १ सय ६५ वटै मतदान केन्द्रबाट सोमबार बिहान मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत मनोज केशीले जानकारी दिए।
सदरमुकाम ल्याइएका मत पेटिकालाई कडा सुरक्षा प्रबन्धका साथ जिल्ला समन्वय समितिको परिसरमा अवस्थित पाँचथर रेडक्रसको भवन र कर्मचारी मिलन केन्द्रको हलमा भण्डारण गरिएको छ।
मत पेटिका आइपुग्नासाथ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाममा सर्वदलीय बैठक राखी मत पेटिका भण्डारण स्थलमा शिलबन्दी गरेको छ। शिलबन्दीमा सरकारका तर्फबाट, वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको तर्फबाट एक/ एक गरी ३ वटा ताला लगाएर शिल गरिएको जिल्ला निर्वाचन अधिकृत ध्रुव राईले जानकारी दिए ।
मत गणना दोस्रो चरणको निर्वाचन सम्पन्न हुनासाथ मंसिर २१ गते बेलुकी ५ बजेदेखि गर्ने समेत सहमति भएको छ ।