बिना विभागीय मन्त्री गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपाली कांग्रेसले पैसा दिएर मतपेटिकामा आगो लगाउन लगाएको आरोप लगाएका छन्।
सोमबार बिहान दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रको तर्फबाट रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका शर्माले कांग्रेसलाई त्यस्तो आरोप लगाएका हुन्। ‘मलाई सबैभन्दा बढी भोट आउने क्षेत्रमा एउटा मतपेटिकामा आगो लगाउन लगाइयो र रातो कामी उम्मेदवार भएको क्षेत्रमा सबैभन्दा बढी मत उहाँलाई आउने ठानेरै कांग्रेसकै एजेन्ट बसेका व्यक्तिले नै मतपेटिकामा आगो लगाए र हवाई फायर गरे,’–पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने ‘ कतै आफैँ र कतिपयलाई पैसा दिएर हामीलाई हराउने अन्तरनिहित षडयन्त्र पूर्वक कांग्रेसले उनीहरूलाई प्रयोग गरेको रहेछ।’
मतपेटीकामा आगो लगाएर हवाई फायर गरेर त्यहाँ त्रासको वातावरण सृजना भएपछि सर्वसाधारण मत नहालेर घर फर्किउन भन्ने षडयन्त्र भएको उनले जिकिर गरे। ‘पराजयको पीडा परिणाम सार्वजनिक हुनुभन्दा पहिले नै उहाँहरूले भोगी सक्नु भएको यो प्रमाण हो ’ शर्माले भने । उनले पश्चिम रुकुमा यसपटक ६५ प्रतिशत मतदान भएतापनि स्थानीय तहको जत्तिको मतदान भने हुन नसकेको बताए।
नेपालमा राजनीतिक अस्थिरता चाहनेहरूले वामगठबन्धन निर्माण हुनुलाई अधिनायकवाद आउने भयो भनेर टिप्पनी गर्नु भनेको भ्रम फैलाउनु मात्रै भएको उनले बताए । ‘त्यस्तो टिप्पणी राजनीतिक चेतना नभएकाहरूले गर्ने टिप्पणी हो ,’–उनले भने, ‘यही संविधानलाई मानेर मतदान मार्फत दुईतिहाई मत लिएर शासन गर्छौं भन्नु के अधिनायकवाद हुन्छ ?’
यो सही हो भने विगतमा कांग्रेसले बहुमत ल्याएर चलाएको सरकार पनि के अधिनायकवाद नै हो त ? उनले प्रश्न गरेका थिए। ‘जसले हिजो प्रजातन्त्र दरबारलाई बुझाएका थिए उनैले आज हामीलाई अधिनायकवाद भन्न सुहाँउदैन’ शर्माले भने ।
वामगठबन्धनलाई अधिनायकवाद देख्नेहरूले उनीहरूको सत्ता आएमा ‘रुन’पनि दिँदैनन् भन्नु गलत भएको भन्दै माओवादी केन्द्रका नेता समेत रहेका शर्माले आफूहरूको बहुमत आएमा कसैलाई पनि रुन नदिने वातावरण मिलाउने दाबी गरका थिए। वामगठबन्धन राष्ट्रको आवश्यकताको उपज भएको बताएका शर्माले संविधान कार्यान्वयन, सम्वृद्धि र राजनीतिक स्थायित्वको लागि गठबन्धन गरिएको दाबी गरे।
‘नेपालमा हाल रहेको दुईतिहाई बहुमतलाई केन्द्रीत गरेर हामी ५ वर्षसम्म ढुक्कले चल्ने सरकार निर्माण गर्न चाहान्छौ,’– शर्माले आगाडि भने ‘हामी तीन महिनामा मन्त्री हट्ने व्यवस्था फेर्न चाहान्छौं र पाँच वर्षसम्म जनताले मुल्यांकन गर्न पाउन भन्ने सोच राखेका छौं।’
५ नं. प्रदेशको प्रदेश राजधानी दाङ नै होयसैबीच उनले दाङको तुलसीपुरमै प्रदेश नं. ५ को प्रदेश राजधानी बस्ने बताएका छन् ।
शर्माले प्रदेश नं. ५ को राजधानी दाङको तुलसीपुरमै बस्ने टुंगो लागि सकेको दाबी गरे। ‘कपिलवस्तु जस्तो सीमाना क्षेत्रमा राजधानी बस्न मिल्दैन,’– शर्माले भने ‘त्यसैले दाङको तुलसीपुरमै प्रदेश राजधानी बस्नेमा निश्चिन्त हुनुहोस्।’ उनले आफूहरूले दाङलाई प्रदेश राजधानी मात्रै नभई समग्र पश्चिम नेपालकै केन्द्र बनाउन चाहेको बताए। ‘प्यूठान जिल्लामा बग्ने माडीलाई दाङमा झारेर दाङको कायापलट गर्ने छौं’ शर्माले भने ।