नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको दाबी गरेका हुन्।
यस पटकको चुनावमा कांग्रेस एकताबद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टीभित्र एकताको सन्देश दिन सफल भएको जिकिर गरे ।
पार्टीभित्र एकताको सन्देश गएकाले पनि आफ्ना उम्मेदवारहरूले जित्ने दाबी कोइरालाको छ।
कोइरालाले चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्नसक्ने बताए ।
उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढिरहेको बताएका छन्।
प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै कोइरालाले प्रक्रिया पुर्याएर प्रधानमन्त्री को बन्ने ?भन्ने टुङ्गो लगाइने बताए।
नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिबद्ध भएको बताए। जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिबद्ध रहेको कोइरालाको भनाइ छ।