पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत हिमालपारी मुस्ताङमा ७१.८४ प्रतिशत मत खसेको छ। कुल मतदाता संख्या ९ हजार ४ सय २७ मतदाता संख्या रहेको मुस्ताङमा ६ हजार ७ सय ७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जानकारी दिएको छ। कार्यालयका अनुसार आईतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म थियो।
उत्तरी सीमा क्षेत्र कोरला नाका जोडिएको उपल्लो मुस्ताङ प्रदेश ‘क’ मा ५८ प्रतिशत मत खसेको छ। लोमान्थाङ गाउँपालिका र दालोमे गाउँपालिका मिलाएर बनेको प्रदेश ‘क’मा कुलमतदाता संख्या ३ हजार १ सय ५६ छ। जहाँ १८ सय ३६ मत खसेको छ। त्यस्तै मुस्ताङको तल्लो क्षेत्र प्रदेश ‘ख’ मा ७९ प्रतिशत मत खसेको छ ।जहाँ कुल मतदाता संख्या ६ हजार २ सय ७१ मतदाता रहेको प्रदेश ‘ख’ मा ४ हजार ९ सय ३६ मत खसेको हो। यस प्रदेशमा बाह्गाउँमूक्ति क्षेत्र, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका जोडिएको छ।
४ महिनाअघि मुस्ताङमा भएको स्थानीय तह निर्वाचनमा ७६ प्रतिशत मत खसेकोमा यसपटक जम्मा ४ प्रतिशत मत मात्र कम भएको हो। यसअघि मुस्ताङको ५ स्थानीयतहको निर्वाचन वर्षायाम भएको हो भने यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हिउँदयामको चिसो मौसममा सुरु भएको हो। निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा आईतबार पहिलो चरणको निर्वाचन गराएको हो। यसपटकको प्रतिनिधि र प्रदेशसभा निर्वाचन ३२ जिल्लाको लागि अनुकुल होईन। हिमाली जिल्ला अन्तर्गत मुस्ताङ र मनाङ जिल्लाको मौसम माईनसमा झरेको अवस्थामा समग्र मुस्ताङमा ७२ प्रतिशत मतदान हुँनु मतदाताको उत्साहजनक सहभागि भएको मूख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीको भनाई छ।
वर्षेनी प्रदेश ‘क’ उपल्लो मुस्ताङका स्थानीयबासी कात्तिक नलाग्दै बेशी झर्ने गर्छन्। यसपटक पनि त्यहाँका आधाजसो स्थानीय मतदाता चिसो छल्ल बेशी झरेका थिए। यसरी बेशी झरेका मतदाता मध्ये करिब ३० प्रतिशतको हाराहारीमा मतदाता राजनीतिक दलकै पहलमा जिल्ला फर्किएका हुन्।
यस्तै तल्लो मुस्ताङका स्थानीय मतदाता जो पोखरा, काठमाडौं आदि ठाउँमा बिभिन्न व्यापार व्यवसाय गर्नेहरु पनि आईतबारको निर्वाचनमा सहभागि हुन जिल्ला फर्किएका थिए। भौगोलिक दृष्टिकोण बिकट मानिएको हिमालपारी मुस्ताङमा मतदातालाई सकस भएको हो। निर्वाचन आयोगले मतदान गर्ने समयअविधि भर निजी तथा हरियो नम्बर प्लेट भएको सवारी साधन सञ्चालनमा रोक लगाएपछि मतदातालाई समस्या भएको हो।
प्रदेश ‘क’मा बसोबास गरेका बृद्ध र अपाङ्ग मतदातालाई घोडामा चढाएरै मतदानकेन्द्रमा पूर्याईएको थियो। पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षा समेत प्रभावकारी भएको बताईएको छ। स्थानीयतहको निर्वाचनको तुलनामा कम मत बदर हुँने निर्वाचन कार्यालयको भनाई छ। यसपटक प्रतिनिधि, प्रदेश र समानुपातिकका फरक फरक मतपत्र र मतपेटिका बाकस फरक फरक भएकाले मतदाता शहज भएको जोमसोमका मतदाता जयन्द्रलाल थकाली बताउँछन्।
पहिलो चरणमा आईत सम्पन्न मतदान भएका मतपेटिका जिल्ला सदरमुकाम जोमसोम ल्याइएको छ। आईतबार राति १० बजेसम्म मुस्ताङको प्रदेश ख का सबै मतपेटिका सदरमुकाम जोमसोममा आईपुगेको प्रजिअ रामचन्द्र तिवारीले जानकारी दिए उपल्लो मुस्ताङको १६ मतदानकेन्द्रका मतपेटिका सोमबार जोमसोममा ल्याईने प्रजिअ तिवारीको भनाई छ ।
पहिलो चरणको मतदानका लागि मुस्ताङको ३७ मतदानकेन्द्रमा २ सय ५९ जना मतदान अधिकृत ,सहायक मतदान अधिकृत र मतदानकेन्द्र स्वंयम् सेवक सहयोगि खटिएका थिए भने निर्वाचनका लागि ९ सय २१ सुरक्षाकर्मी खटिएका थिए ।