रोल्पा जिल्लाको एउटा मतदान केन्द्रमा महिलाको नेतृत्वमा निर्वाचन भएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले रोल्पा नगरपालिका वडा नं. १ को तारामावि बामरुक मतदान केन्द्रमा महिलाको नेतृत्वमा आइतबारको निर्वाचन भएको जानकारी दिए।
उक्त मतदान केन्द्रमा लोकेन्द्र आचार्य मतदान अधिकृत थिइन्। उनको नेतृत्वमा सात जना कर्मचारी मतदान गराउनका लागि खटेका थिए। उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीको नेतृत्व पनि महिलाले नै गरेका थिए। असई जीवा कुँवरको नेतृत्वमा सात जना प्रहरी निर्वाचन गराउनका लागि खटेका थिए । तर, सात जना प्रहरीमध्ये दुई जना जवान भने पुरूष प्रहरी र तीन जना म्यादी प्रहरी मध्ये एक जना मात्रै पुरूष रहेको निर्वाचन अधिकृत आचार्यले सेतोपाटीलाई जानकारी दिइन्।
कुल सातसय ४१ मतदाता रहेको माझरुक मतदान केन्द्रमा निर्धारित समय बेलुका ५ बजेसम्म चार सय ४६ जनाले मतदान गरेको मतदान अधिकृत आचार्यले जानकारी दिइन् । उनले आफ्नो मतदान केन्द्रमा ६० प्रतिशत मतदान भएको बताइन् । ‘कुनै समस्या भएन । अत्यन्तै सौहार्दय पूर्णरुपमा मतदान पूरा भयो।’ मतदान अधिकृत आचार्यले भनिन् ।
नेपाली सेना र सशस्त्र प्रहरी आफ्नो मतदान केन्द्रमा आफूले नदेखेको उनले बताइन्। ‘बाहिरी सुरक्षामा थिए होला,तर भित्र सेना र सशस्त्र प्रहरी कोही देखिएनन्’ उनले भनिन्।
आफूले नेतृत्व गरेको मतदान केन्द्रमा कुनैपनि समस्या नआएको तथा एउटाले पनि विवाद नझिकेको र मतदान शान्तिपूर्ण रूपमा पूरा भएको भन्दै उनले फोनमै खुसी साटेकी थिइन्।