कुनै समय ‘नो भोट’ गरेका रोल्पा थवाङवासीले यो निर्वाचनमा उत्साजनक तवरले मतदान गरिरहेका छन्। पहिलो चरणको निर्वाचन अन्तर्गत आइबार बिहान सात बजेदेखि जारी प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थवाङ गाउँपालिकाको वडा नं. १ र २ मा विहान ९ बजेसम्म २०० बढी मतदान भएको रोल्पाका मुख्य निर्वाचन अधिकृत बासुदेव लाल श्रेष्ठले सेतोपाटीलाई जानकारी दिएका छन्।
साविक थवाङ गाविस र हालको थवाङ गाउँपालिका अन्तर्गत झन्डै ६ हजार बढी मतदाता रहे पनि २०७० सालको संविधानसभा निर्वाचनमा थवाङवासीले त्यहाँबाट एक भोट पनि हालेका थिएनन्। ‘नो भोट’ गरेका थवाङवासीले गत स्थानीय तहको निर्वाचनमा पनि यसैगरी उत्साहका साथ मतदान गरेका थिए। थवाङ गाउँपालिकामा स्थानीय तहमा ५ हजार ८ सयको हाराहारीमा मतदाता थिए भने यो निर्वाचनमा झन्डै ६ हजार बढी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। तर थवाङअन्तर्गत पनि वडा नं. १ र २ लाई नै मुख्य केन्द्र मान्ने गरिन्छ। जहाँका जनताले ‘नो भोट’ गरेका थिए।
यहाँको वडा नं. १ मा ६ सय २३ र वडा नं. २ मा १ हजार ५ सय ५ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए। २ हजार १ सय २८ मतदाता रहेको थवाङको केन्द्र भागमा विहान ९ बजेसम्म दुईसय मतदान हुनु उत्साप्रद मान्नुपर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठलले बताए। ‘जाडोको मौसम छ। घाम लाग्दैछ, मौसम तात्दैछ र अब झनै मतदाता मतदानका लागि निस्कन्छन्।’ मुख्य निर्वाचन अधिकृतले भने।
रोल्पा जिल्लामा कुल १ लाख २७ हजार ६ सय जति मतदाता रहेको छ। त्यस्तै ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र रहेका छन्।
स्थानीय निर्वाचनमा रोल्पाअहिले निर्वाचन बहिस्कारको नीति अवलम्वन गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तर्फकाट समेत स्थानीय निकाएको निर्वाचनमा सहभागिता थियो। पार्टीले निर्वाचन बहिस्कार गरेको भए पनि उक्त पार्टीका थवाङमा प्रभावशाली मानिने नेता अमृत घर्ती मगर नेपाली कांग्रेससँग चुनावी साठगाँठ गरी निर्वाचनमा होमिएका थिए। थवाङ गाउँपालिकाको प्रमुखमा लडेका अमृत घर्ती मगरले १ हजार १ सय ५८ र नेपाली काँग्रेसवाट उपप्रमुखकी उम्मेदवार रहेकी श्रीकुमारी रोकाले समेत समान १ हजार १ सय ५८ मत नै प्राप्त गरका थिए।
थवाङको इतिहासकुनैदिन माओवादीको उद्गम स्थल मानिने थवाङमा कांग्रेसको पक्षमा समेत राम्रो मतदाता हुनु रोचक विषय मान्ने गरिन्छ। थवाङको नेपालको राजनीतिमा आफ्नै इतिहास छ। संयुक्त जनमोर्चा नेपालको तर्फवाट २०४८ सालमा वर्मन बुढा रोल्पाको क्षेत्र नं. १ बाट र निर्वाचन क्षेत्र नं. २ बाट कृष्णबहादुर महरा निर्वाचित भएको थिए। वर्मन बुढाले निर्वाचित सांसदको हैसितमा च्यातिएको भाङ्ग्राको कपडा (मगर भेषभुषा) लगाएर देशको अवस्थाको वारेमा चित्रण गर्दै मनतब्य ब्यक्त गरेको घटना हालसम्म नेपालको संसदमा बेग्लै महत्व राख्ने गरेको छ । कम्युनिष्ट अर्थात आफूलाई क्रान्तिकारी भन्ने रुचाउनेले थवाङलाई त्यसको प्रतिकका रुपमा हेर्ने गर्छन्। यहाँ छुट्टै नियम छ। छुट्टै कानुन छ। त्यसैले यो नेपाल भित्रको छुट्टै राज्य हो भन्ने मनोविज्ञान हालसम्म पनि यहाँको समाजमा व्याप्त रहेको थवाङलाई नजिकबाट नियाल्नेहरू बताउँछन्।
तर्साउन बम विस्फोट गराउँदा समेत उत्साहजनक मतदानरोल्पाको केही मतदान केन्द्र नजिकै मतदान सुरु भएको केही घन्टाको अन्तरालमै बम विस्फोट गराइएको भएपनि त्यसको बेवास्ता गर्दै मतदाताहरु उत्साहजनक रुपमा मतदानमा सहभागि भएका छन्। ‘दुईचार ठाउँमा मतदान केन्द्र नजिकका डाँडा काँडामा बम बस्फिोट गराएका खबर आएको छ। तर, मतदाताहरू त्यसको परवाह नगरी मतदानमा उत्साहपूर्वक सहभागी भएका छन्।’ प्रजिअ डा.भट्टराईले बताएका छन्। त्यस्तै रोल्पा जिल्लाका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानेन्द्र फुँयालले सुकीदह गाउँपालिका वडा नं. ६ स्थित विरेन्द्र मा.वि मतदान केन्द्रको ३ देखि ४ सय मिटरको दुरीमा बम विस्फोट भएको र माडी गाउँपालिका वडा नं. १ को पेदीखोला स्थित मतदान केन्द्रको सल्लेरी जंगल लगाएका स्थानमा बम विस्फोट भएको जानकारी दिए। उनले भने, ‘हामीले केन्द्रिय योजना अनुरुप एथेष्ट मात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली खटाएका छौँ। ढुक्क भएर मतदाताले मतदान गरिरहेका छन्।’ उनले वम बिस्फोट गराएर तर्साउन खोजे पनि त्यसले मतदातालाई कुनै प्रभाव नपरेको दाबी गरे।