दोस्रो संविधनसभा निर्वाचनमा ‘नो भोट’ गरेका रोल्पाका थवाङवासीले समेत यो निर्वाचनमा उत्साजनक रूपमा मतदान गरिरहेका छन्।
पहिलो चरणको निर्वाचन अन्तरगत आइबार बिहान सात बजेदेखि जारी प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थवाङ गाउँपालिकाको वडा नं. १ र २ मा शान्तिपूर्वक मतदान भइरहेको रोल्पाका मुख्य निर्वाचन अधिकृत बासुदेव लाल श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
साविक थवाङ गाविस र हालको थवाङ गाउँपालिका अन्तरगत झन्डै ६ हजार बढी मतदाता रहेपनि २०७० सालको संविधानसभाको निर्वाचनमा थवाङवासीले त्यहाँबाट एउटा भोट पनि हालेका थिएनन् । ‘नो भोट’ गरेका थवाङवासीले गत स्थानीय तहको निर्वाचनमा पनि यसैगरी उत्साहका साथ मतदान गरेका थिए ।
थवाङ गाउँपालिकामा स्थानीय तहमा ५ हजार ८ सयको हाराहारीमा मतदाता थिए भने यो निर्वाचनमा झन्डै ६ हजार बढी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । तर, थवाङ अन्तरगत पनि वडा नं. १ र २ लाई नै मुख्य केन्द्र मान्ने गरिन्छ। जहाँका जनताले ‘नो भोट’ गरेका थिए । त्यहाँको वडा नं. १ मा ६ सय २३ र वडा नं. २ मा १ हजार ५ सय ५ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
‘जाडोको मौसम छ । घाम लाग्दैछ । मौसम तात्दैछ र अब झनै मतदाता मतदानका लागि निस्कन्छन् ।’ मुख्य निर्वाचन अधिकृतले भने । थवाङ गाउँपालिकाको वडा नं. ३ मा १ हजार ५ सय ६०, वडा नं. ४ मा ९ सय ४२ र वडा नं. अन्तरगतको क र ख मतदान केन्द्रमा गरि १ हजार १ सय ७९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
रोल्पा जिल्लामा कुल १ लाख २७ हजार ६ सय जति मतदाता रहेको श्रेष्ठले जानकारी दिए । रोल्पामा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र रहेका छन् ।