पुरानो राप्ती अञ्चलका तीन जिल्ला रोल्पा, रूकुम पूर्व र रूकुम पश्चिममा आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
दाङका छिमेकी जिल्लामध्येको रूकुम दुई प्रदेशमा बाँडिएको छ। रूकुम पूर्व प्रदेश नं. ५ मा पर्छ भने रूकुम पश्चिम प्रदेश नं. ६ मा पर्छ। प्रदेशसँगै अब यी दुई फरक जिल्ला पनि भइसकेका छन्।
चुनाव भने दुवैमा एकैसाथ आइतबार नै हुँदैछ। स्थानीय तह निर्वाचन भने यहाँ फरक–फरक समयमा भएको थियो।
दाङसँगै सीमाना जोडिएका पहाडी जिल्लामध्ये सल्यान प्रदेश नं. ६ मा र प्यूठान प्रदेश नं. ५ मा छ। दुवै स्थानमा मंसिर २१ मा चुनाव हुँदैछ ।
माओवादीको उद्गम थलो मानिने रोल्पा र रुकुमका दुई वटै जिल्लामा एकै साथ हुन लागेको निर्वाचनले सबैको चासो बढाएको छ। दुवै जिल्लाको प्रवेशद्वार दाङ भएकाले यहाँ झन् बढी चर्चा छ। माओवादी आन्दोलनताका खाद्यान्न, अन्य जिन्सी सामाग्री तथा आर्थिक सहयोग दाङबाटै जान्थ्यो। धेरै जसो बासिन्दा छिमेकी जिल्लाबाटै बसाइँसराई गरेर आएका हुनाले अधिकांश मतदाता दाङबाटै जाँदैछन्।
रोल्पा र दुई वटै रूकुममा शान्तिपूर्ण चुनाव गर्न सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीको संख्याबारे सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरुले आधिकारीक जानकारी भने दिएका छैनन्। तर, जिल्लाका तयारी अवस्था हेर्दा सयौं सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
यी जिल्ला माओवादी उद्गम स्थल मात्र नभएर नेत्रबिक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन विरोधी गतिविधि गरिरहेकाले दाङबाट मात्रै ठूलो संख्यामा सुरक्षाकर्मी पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र फुँयालले केन्द्रीय नीति अनुरुप पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए। रुकुम पश्चिमका प्रमुख एवं डिएसपी राजेन्द्रप्रसाद धमला र रूकुम पूर्वका प्रहरी अधिकारीले पनि त्यस्तै जानकारी दिएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त फौजले सुरक्षा गर्ने र मतदाताले ढुक्क भएर मतदान गर्न पाउने प्रबन्ध गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। त्यहाँ प्रहरी निरीक्षक मात्रै झन्डै दुई सय जना परिचालन भएको रोल्पाका एक पत्रकारले जानकारी दिएका छन्। झन्डै ४ देखि ६ हजारसम्म सुरक्षाकर्मी रोल्पामा खटिएका उनले अनुमान गरे।
रोल्पा र रूकुमका सबै निर्वाचन केन्द्रमा र बुथमा कर्मचारी पुगिसकेका र बुथमै बसेर धमाधम मतदान केन्द्र निर्माण काम भइरहेको रोल्पाका डिएसपी ज्ञानेन्द्र फुँयालले बताए।
रोल्पामा को-को भिड्दैरोल्पामा मुख्य गरी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। काँग्रेसको तर्फबाट रोल्पा प्रतिनिधिसभा सदस्यमा सिँचाई राज्यमन्त्री अमरसिंह पुन र माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनका बीचमा प्रतिस्पर्धा हुन लागेको छ।
त्यस्तै, प्रदेशसभा १ मा माओवादीका कुलप्रसाद केसी र कांग्रेसका शेरबहादुर महराबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेशसभा २ मा माओवादीका दिपेन्द्र पुन र कांग्रेसका खगेन्द्र हमाल चुनावी मैदानमा छन्।
रोल्पामा १ लाख २७ हजार ६ सय बढी मतदाता छन्।
माओवादीको किल्ला मानिने रोल्पाको स्थानीय तह निर्वाचनमा माओवादी नै हाबी भएको थियो। झन् यसपालि वर्षमान पुनको उम्मेदवारीले धेरैको ध्यान केन्द्रित भएको छ।
सिँचाइ राज्यमन्त्री एवं काँग्रेस नेता अमरसिंह पुनपनि यहाँ लोकप्रिय नेता हुन्। उनको पक्षमा माहोल बनाउन मंसिर ७ गते मात्रै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा रोल्पा पुगेर सम्बोधन गरेका थिए।
दुई जिल्ला रूकुमरूकुम स्थानीय तह चुनाव अगाडि नै दुई प्रदेशमा बाँडिएको थियो। गत असोज १९ गते भने रूकुम पूर्व र रूकुम पश्चिम गरी दुई जिल्लाको विधिवत उद्घाटन भएको हो। नेपालका ७५ जिल्लामध्ये रूकुम र नवलपरासीमा नयाँ थपिएपछि हाल ७७ जिल्ला पुगेको छ।
रूकुम पश्चिमरूकुम पश्चिम जिल्ला रूकुम पूर्वभन्दा भूगोलमा सानो भएपनि जनसंख्यामा झन्डै दोब्बर छ। मतदाताको अन्तर पनि दुई जिल्लामा लगभग त्यस्तै छ।
रूकुम पश्चिममा ८४ हजार ३२ मतदाता छन् भने रूकुम पूवर्मा २७ हजार ९ सय २८ छन्।
यो चुनावमा धेरैको ध्यान पनि रूकुम पश्चिमले नै तानेको छ। किनकि यहाँ विनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा चुनावी प्रतिस्पर्धामा छन्।
मन्त्री शर्मासँग प्रतिनिधिसभा सदस्यमा काँग्रेस नेता एवं पूर्व राज्यमन्त्री गोपालजी जंग शाह प्रतिस्पर्धामा छन्। यहाँपनि मंसिर ७ गते प्रधानमन्त्री देउवा पुगेर चुनावी सभा सम्बोधन गर्नुले यहाँको चुनावलाई काँग्रेसले पनि प्रतिष्ठाको लडाइँ बनाउन चाहेको स्पष्ट हुन्छ।
स्थानीय निर्वाचनमा रूकुम ‘क्लीन स्वीप’ गरेको माओवादी इतिहास दोहोर्याउने दाउमा देखिन्छ। प्रदेशसभा १ मा काँग्रेसका कुष्णबहादुर रोकाया र माओवादी केन्द्रका रातो कामी प्रतिस्पर्धामा छन् भने २ मा काँग्रेसबाट नेविसंघका केन्द्रीय उपाध्यक्ष खड्गबहादुर डाँगी र माओवादी केन्द्रबाट गोपाल शर्मा उत्रिएका छन्।
रूकुम पूर्वभूगोल ठूलो तर जनसंख्या थोरै रहेको रूकुम पूर्व असोज १९ मा उद्घाटन भएको नयाँ जिल्ला हो। नयाँ जिल्ला भएकाले यहाँ को विजयी होला भन्ने चासो सबैलाई छ।
यहाँ नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा हरि शंकर घर्ती, प्रदेशसभा १ का लागि दुतकुमार पुन र प्रदेशसभा २ मा दत्तबहादुर बस्नेत उम्मेदवार छन्।
त्यस्तै वामगठवन्धनबाट माओवादी केन्द्रकी नेतृ कमला रोका प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार छन्। प्रदेशसभा १ मा तेजबहादुर वली र प्रदेशसभा २ मा पूर्णबहादुर घर्ती उम्मेदवार छन्। प्रदेशसभा २ का घर्ती माओवादी केन्द्रका ५ नं. प्रदेशका संयोजक पनि हुन्।
वामगठवन्धन भएपनि माओवादी केन्द्रले रोल्पा र दुई वटै रूकुमलाई आफ्नो आधार क्षेत्र मान्दै सबै उम्मेदवार एकल रुपमा उठाएको छ। यी तीन जिल्लामा एमालेबाट एउटा उम्मेदवार पनि छैनन्।