प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरूलाई अपिल गरेका छन्।
शुक्रबार राजधानीामा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका हुन् । उनले भने,‘केही ठाउँमा भएका छिटपुट घट्नालाई लिएर सुरक्षाबारे ‘अफवाह’ फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग यही मञ्चबाट अपिल गर्न चाहन्छ।’
साक्षात्कारमा बोल्दै उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए।
उनले भने,‘फाट्टफुट्ट भएका घटनालाई अतिरञ्जित बनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस् सुरक्षाको पूर्ण प्रत्याभूति छ, अझै कुनै चासो भए यहाँहरूले सुरक्षा कार्ययोजनाबारे गृहमन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ।’
उनल मौन अवधि सुरू भएकोले सुरक्षाको पूर्ण प्रत्याभूतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोर्याए। उनले थपे,‘अब डर र त्रासको अवस्था छैन।’
यादवले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न उम्मेदवार तथा दलका नेता र कार्यकर्ताहरूलाई आग्रह गरे । त्यस्तै, उनले मिडियाहरूलाई पनि समाचार सम्प्रेषण तथा प्रशारण गर्दा अतिरञ्जित नगर्न आग्रह गरे । उनले भने,‘अतिरञ्जित समाचारहरू आउँदा दुःख लाग्छ, यसले भ्रम सिर्जना हुन्छ, त्यस्तो काम मिडियाका साथीहरूले गर्नुभएन, देशभरिका राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षक संघसंस्थाहरूले निर्वाचन गतिविधि अवलोकन गरिरहेकोले सबैले संयमता र अनुशासन अपाउनुपर्छ।’ उनले यो निर्वाचन मुलुकमा संविधान कार्यान्वयन गरेर स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्ने खुड्किलो भएकोले पूर्ण रुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले निर्वाचनमा अधिकभन्दा अधिक मतदाताहरूको सहभागिता होस् भन्दै निर्वाचनलाई उल्लासमय बनाउन समेत अपिल गरे । उनले भने,‘धैर्यता र सहिष्णुताका साथ मतदानमा सहभागी हुन म आम मतदाताहरूलाई आग्रह गर्दछु, स्थानीय तहको जस्तै हर्ष र उल्लास कायम होस्।’
मौन अवधि भनेको मतदाताहरूले विवेक प्रयोग गर्ने स्वतन्त्रता पनि भएको उल्लेख गर्दै यादवले भने,‘यो अवधि भनेको ३२ वटै जिल्लाका मतदाताहरूले आफ्नो विवेक प्रयोग गर्ने समय हो, उहाँहरूलाई स्वतन्त्रपूर्वक आफ्नो विवेक प्रयोग गर्न दिनुपर्छ। आयोग उहाँहरूलाई स्वतन्त्र रहन दिनको लागि हार्दिक आग्रह गर्दछ।’
https://www.facebook.com/setopati/videos/1666646156739284/