आइतबार पहिलो चरणमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले ३२ जिल्लाका मतदातालाई आजदेखि मतदाता परिचयपत्र वितरण गरिने भएको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले सो कुराको जानकारी दिएका हुन्।
‘आजैबाट मतदात परिचय पत्र वितरणको काम सुरू हुँदैछ,’ उनले भने ‘नामावली सार्न, त्रुटि सुधार गर्न निवेदन दिएका मतदाताले परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाटै लिनुपर्नेछ।’
आज र भोलि दुई दिन आयोगले परिचयपत्र वितरण गर्ने भएको छ।
परिचयपत्र लिन बाँकी पुराना मतदाता र गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका नयाँ मतदाताले परिचयपत्र पाउने आयोगले जनाएको छ।
आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने १९ र २० गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।