विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार आह्वान गरेको जिल्ला बन्दमा दाङका उम्मेदवारहरूले हिँडेरै भएपनि प्रचारप्रसार गरिरहेका छन्।
एकातिर गाडीमा टाढा जाँदा बन्दको विरोध गरेको ठहर्ने र अर्काेतर्फ निर्वाचन नजिक आइसकेको हुँदा घरमै थन्किएर बस्न सक्ने अवस्था नरहेको हुँदा हिँडेरै मतदातासँग भोट माग्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बताए।
गिरी दाङको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनले बुधबार बिहानैदेखि हिँडेरै मतदाताको घर र टोलमा पुगेको बताए। ‘बिहानभर म झन्डै ३० किलोमिटरसम्म हिँडेरै तुलसीपुर बजार आसपासका क्षेत्रमा प्रचारप्रसार गरे,’– पूर्व सिंचाई मन्त्री गिरीले भने ‘बरु म हिँडेरै भएपनि प्रचार गर्छु तर म कसैलाई चिढ्याउन चाहान्न ।’
गिरी जस्तै अन्यदलका उम्मेदवारहरूले समेत बन्दका दिनमा आज नजिकका क्षेत्रमा प्रचारप्रसार गरिरहेको पाइएको छ। हिँडेरै वा मोटरसाईकल मार्फत पनि उम्मेदवारहरूले आज भोट माग्दै हिँडेको देखिएको छ ।