नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण बुधवार विहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। यहाँका सवारी साधन, विद्यालय ,कलकारखाना, उद्योग धन्दा र बजार बिहानैदेखि ठप्प छन्।
पक्राउ परेका कार्यकर्ताको विना सर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको नेकपा दाङले जनाएको छ।
उक्त पार्टीका जिल्ला इञ्चार्ज सविनले दुई दिनअघि विज्ञप्ति मार्फत बुधवारको बन्दवारे अबगत गराएका थिए। दाङमा बिप्लवका दुई दर्जन बढी कार्यकर्ता पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच नेकपा एमाले दाङले भने बिप्लव नेतृत्वको नेकपाले गरेको बुधवारको जिल्ला बन्दलाई आफ्ना अध्यक्ष केपी शर्मा ओलीको बाटो छेक्ने प्रयासको रूपमा अर्थ्याएको छ।
एकजना जिल्ला नेताले जिल्लाको तुलसीपुर र घोराहीमा बुधवार आयोजित बामगठवन्धनको संयुक्त सभालाई प्रभावित तुल्याउन तथा अध्यक्ष ओलीको बाटो छेक्ने उद्देश्यले जिल्ला बन्दको नाटक रचिएको आरोप लगाए। तर, उनले यो बन्दले आफूहरुलाई कुनै प्रभाव नपार्ने र गाउँ गाउँवाट कार्यकर्ता स्वस्फूर्त रुपमा कार्यक्रममा आउने दाबी गरे।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) लगाएका नेताहरु वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउने लागेको दिनमै बन्द आह्वान गर्नुले आफ्ना नेताको बाटो छेक्ने उद्देश्यका साथ भएको उनले बताए। ‘हाम्रो कार्यक्रम असफल तुल्याउने उदेश्यले बन्द आह्वान गरिएको हो। तर, हामी कार्यक्रम सफल बनाएर देखाइदिन्छौं।’
उनले कार्यकर्ता ओसार्न गाउँ गाउँमा बसहरु पठाउने योजना सुनाए पनि दाङमा बिहानैदेखि यातायातका साधन भने सञ्चालनमा आउन नसक्दा गाउँका कार्यकर्ता भने कार्यक्रममा जान नसक्ने परिस्थिति देखिएको छ।