सर्वोच्च अदालतमा मंगलबार अपरान्ह बम रहेको हल्लाले सर्वोच्च परिसरका मानिसमा एकछिन त्रास फैलियो।
बम रहेको हल्ला लगत्तै नेपाल प्रहरीको टोली त्यस स्थानमा बमको खोजीमा लाग्यो। तर सर्वोच्च परिसरमा केही भोटिएन।
सर्वोच्चका प्रवक्ता नारायण प्रशाद पन्थीको मोवाइलमा नचिनेको नम्बरबाट सर्वोच्च परिसरमा बम रहेको सन्देश आएको थियो। सन्देश अनुसार कुनै बम फेला नपरेपछि काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले उक्त खबर निराधार रहेको पुष्टि गरे।
‘प्रहरी टोलि परिचालन गरेर खोजी कार्य गर्दा केही भेटिएन, बम राखेको खबर हल्ला मात्र हो।’ धानुकले भने।
उत्त सन्देश पठाउनेमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मसिंर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भाड्न र त्रास फैलाउन निर्वाचन विरोधीहरु यस्ता गतिविधिमा सक्रिय भएका छन्।
निर्वाचनको लागि उम्मेदवार,कार्यकर्ताहरु अहिले सक्रिय रुपमा प्रचार प्रसारमा व्यस्त छन्। तर प्रचारको क्रममाउनीहरुमाथि आक्रमण हुने र निर्वाचन विरोधी क्रियाकलाप देशभर बढ्दै गएको छ।
डिआजी मनोज नेउपानेका अनुसार निर्वाचनलाई भाड्न र भ्रम फैलाउने उदेश्यले आक्रमणका घटना बढेका हुन्। उनले निराधार हल्ला फैलाउने, सानातिना सुतली बम प्रहार गर्ने घटनाले डराउनुपर्ने अवस्था नभएको बताए।
देशभर निर्वाचन प्रचारमा खटिएकाहरुमाथि भएका आक्रमण तर्साउन, भ्रम त्रास सिर्जना गर्न मात्र रहेको र यसको लागि सुरक्षा व्यवस्था कडा पारिएको नेउपानेले सेतोपाटीलाई बताए।
‘निर्वाचन शान्त र भयरहित हुन्छ, त्यसमा आत्तिनुपर्दैन, ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस्।’ उनले भने।
अहिलेसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न देशभरबाट ३३७ जना पक्राउ परिसकेका छन्।
नेउपानेले भने,‘पक्राउ पर्नेमा अधिकांश विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन्। उनीहरुमाथि आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढिसकेको छ।’
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख प्राथमिकता भएकाले नेपाल प्रहरी सुरक्षा व्यवस्था मिलाउन अति संवेदनशील भएर लागेको नेउपानेले बताए। उनले भने,‘निर्वाचनको शान्ति सुरक्षामा कुनै कमी हुँदैन। नेपाल प्रहरी संवेदनशील भएर शान्ति सुरक्षामा खटिएको छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न सरकार प्रतिवद्द रहेको बताउँदै मतदातालाई ढुक्कसँग निर्वाचनमा भाग लिन आग्रह गर्दै आएका छन्।
देउवाले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई पुन निर्देशन दिएका थिए।
उनले सुरक्षा निकायालाई निर्देशन दिँदै भने,‘निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरि कारवाही गर्नुस्।’
निर्वाचनको सुरक्षाको लागि संयुक्त रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानले आफ्नो सक्रियता बढाएको छ।
निर्वाचनमा हुनसक्ने खतराको सुरक्षाको लागि नेपाल प्रहरी सहित अन्य सुरक्षा निकाय सक्रिय रुपमा लागेको बताउँदै डिआइजी नेउपानेले नेता, कार्यकर्ता र जनताको सुरक्षाको लागि हरेक पल नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताए।
निर्वाचन मिति नजिकिँदै गर्दा देशभरबाट विभिन्न स्थानबाट सुतली बम, विभिन्न हातहतियार पेस्तोल, भरुवा बन्दुक, गोली, जिलेटिन, सकेट बम बनाउने सामाग्री सहित २२ जना भन्दा बढी पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रधान कार्यलयले जनाएको छ।
निर्वाचनको मुखमा बढ्दै गएको आतंकबाट निर्वाचन आयोग पनि दुखी भएको छ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयोगले देशमा भइरहेको यस्तो अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराएको छ। निर्वाचन आयोगले मंगलबार सुरक्षा निकायसँग गरेको छलफलमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन ध्यानाकर्षण गरेको हो।
ढकालले भने,‘आज भएको छलफलमा हामीले शान्तिपुर्वक मतदान हुनुपर्ने माग गरेका छौं। सुरक्षाको आवश्यक सम्पुर्ण व्यवस्था गर्न सरकारसँग गरेको मागमा सरकार पनि सकरात्मक छ।’
निर्वाचन आयोगले भयरहित वातावरणमा शान्तिपुर्वक निर्वाचन हुनेमा ढुक्क हुन मतदातालाई आग्रह गरेको छ।