मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ जिल्लामा ७८८ कर्मचारी खटाइएको छ।
सोमबार घोराहीमा बसेको बैठकले ७८८ कर्मचारी छनोट गरेर खटाउने निर्णय गरेको सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृत र स्थानीय प्रहरी प्रशासनको संयुक्त बैठकले जिल्लाका ३९४ मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत भण्डारीले बताए।
उनका अनुसार हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, थप चारजना सहयाक कर्मचारी र दुईजना कार्यालय सहयोगीको रुपमा रहने छन्। एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाउने गरि छनौट गरिएको भएपनि मतदाताको संख्यालाई मध्यनजर गर्दै हरेक मतदान अधिकृतले २ देखि ४ जनासम्म स्वयम सेवक पछि छनौट गर्ने अधिकार रहने सहायक निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार दाङका हरेक मतदान केन्द्रमा बढीमा १२ जनासम्म कर्मचारी खटाउने गरि व्यवस्था गरिएको बताए ।
सोमबार छनौट भएका ७८८ कर्मचारी लगायत थप अन्यलाई समेत जगेडामा पठाउन सकिने हुँदा जिल्लामा झन्डै ८ सयको हाराहारीमा कर्मचारी परिचालन हुने उनले बताए । सोमबार छनौट गरिएका ७८८ कर्मचारीलाई निर्वाचन आयोगले मंसिर १० गतेदेखि तालिम दिने र मंसिर १६ देखि १७ गतेसम्म उनीहरू आ–आफ्नो मतदान केन्द्रमा पुगिसक्ने जानकारी दिइएको छ। तर, निर्वाचनका लागि दाङमा ३ हजार १ सय ५२ जना कर्मचारी परिचालन हुने जानकारी दिइएको छ।
सोमबार मात्रै जिल्लामा काठमाडौंबाट मंसिर २१ गतेको निर्वाचनका लागि मतपत्र दाङ आइपुगेको भण्डारीले जानकारी दिए।
गाउँ/गाउँमा मतदाता शिक्षायसैबीच, मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङका गाउँ/ गाउँमा मतदाता शिक्षा तीव्र रुपमा दिन थालिएको छ।
निर्वाचनको तयारीको लागि जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, स्थानीय प्रशासनले आन्तरिक रूपमा तयारी तीव्र पारेको बताएका छन्। ३ सय ९४ जना मतदाता शिक्षा स्वयम सेवकहरू जिल्लाका गाउँ/गाउँमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
बदर मतको संख्या घटाउन तथा मतदान गर्ने तरिका स्वयम सेवकहरूले सिकाउँदै आएको सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले बताए।