संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन ठगहरूको झुण्ड भएको टिप्पणी गरेका छन् । झूठ बोलेर ठग्ने र जनतालाई ‘गुमराह’ गर्ने पार्टीहरू कम्युनिष्ट हुनै नसक्ने यादवले बताए ।
निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका वडा न. ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने, ‘वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोङको खोल ओडेका कम्युनिष्टहरूको असली चरित्र जनताले बुझ्न जरूरी छ।’
अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन् । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाए। यादवले भने, ‘मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो। जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।'
उनले मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड्ने दाबी गरेका छन्। त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई अपिल गरेका छन्।
सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रील मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गरेका छन्।
नेता मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिन्हमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
सप्तरीको निर्वाचन क्षेत्र न. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।