दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले दाहालको शव अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिने बताएकी हुन्। उनका अनुसार १ :३० बजे श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा लगिने छ भने ४ बजे अन्तिम सस्कार गरिने छ।
प्रचण्ड पुत्र दाहालको आइतबार बिहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।
पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरालाई हेर्न नर्भिक अस्पताल पुगेका छन्।
छोरा प्रकाश दाहालको निधन भएपछि झापाबाट चुनावी कार्यक्रम छोडेर छोरी गंगा र ज्वाईँ जीवन आचार्य तथा नातीनीसहित प्रचण्ड काठमाडौं आएका हुन्। काठमाडौं ओर्लिएलगत्तै दाहाल लाजिम्पाटस्थित घर गएका थिए। त्यसपछि घरको स्थिति बुझेर उनी अस्पताल आएका हुन्।
दाहालको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ। यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।