संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका शहीदहरूलाई सम्झेर भोट हाल्न आम जनतालाई अपिल गरेका छन्। शहीदको सपना र बलिदानलाई खेर जान नदिन मधेश गठबन्धनलाई जिताउन यस्तो अपिल गरेका हुन्।
महदेवा गाउँपालिका वडा न. ६, ढिकुलीमा शनिबार फोरम नेपाल र राजपाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भोटको सही उपयोग गर्न मतदातालाई आग्रह गरे।
'भोट हाल्ने बेला छातीमा हात राखेर शहीदहरूलाई सम्झिनुस्, अनि अन्तरात्माको आवाज सुनेर मधेश गठबन्धनलाई भोट हाल्नुस्'- चुनाव प्रचारमा रहेका अध्यक्ष यादवले भने।
मधेशको शोषक तीन ठूला दल भएको टिप्पणी गर्दै यादवले चुनाव मधेश समर्थक र विरोधीबीचको लडाई भएको स्पष्ट पारेका छन्। 'यो सामान्य चुनाव होइन, मधेश आन्दोलनका पक्षधर र मधेशका विरोधी बीचको संघर्ष हो'- उनले भने।
सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार यादवले सप्तरीको विकास र समृद्धिको लागि आफ्नो जन्मभूमिबाट उम्मेदवार दिएको प्रष्ट पारे।
कार्यक्रममा राजपाका केन्द्रीय उपाध्यक्ष शेखर यादव, फोरम नेपालको तर्फबाट सप्तरी क्षेत्र न. २ को (ख) का उम्मेदवार शैलेन्द्र साह लगायतको उपस्थिति थियो।