प्रतिनिधिसभाका एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचनको पार्किङमा राखिएको ग १ य ३९६ नम्बरको निजी ल्यान्डरोभर सेतो जीपमाथि शुक्रबार साँझ अज्ञात समूहद्धारा ढुङ्गा प्रहार भएको छ ।अज्ञात समूहले प्रहार गरेको ढुङ्गाले जीपको अगाडिको सिसा फुटेको छ।
जोमसोमबाट उपल्लो मुस्ताङको १ साता लामो चुनाबी प्रचार प्रसार र घरदैलो कार्यक्रम सकेर जोमसोमतर्फ फर्किएका उम्मेदवार प्रेम प्रसाद तुलाचन, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद श्रीमाया थकाली, पूर्वसभासद टासी स्याङ्बो गुरुङसेनी, एमाले जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनाराय शेरचन, माओवादी जिल्ला नेता सुक बहादुर बिक चढेको २ वटा जीपलाई लक्षित गरेर ढुङ्गा प्रहार भएको अध्यक्ष चन्द्र मोहन गौचनले बताए।
उपल्लो मुस्ताङको चुनाबी घरदैलो सकेर फर्कने क्रममा बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिका कागबेनीको होटल ड्रागनको कम्पाण्डको पार्किङमा राखिएको जीपलाई लक्षितगरि ढुङ्गा प्रहार भएको उनले बताए। उपल्लो मुस्ताङको कठिन र लामो यात्रा रोकेर कागबेनीको ड्रागन होटलमा खाजा खाँदै बिश्राम लिएको एमाले टोली चढेको जीपलाई लोडसेडिङको मौका छोपेर ढुङ्गा प्रहार भएको बामगठबन्धनका उम्मेदवार प्रेम प्रसाद तुलाचनले बताए।
उनले निर्वाचनको मिति नजिकिदै गरेको अवस्थामा उम्मेदवारको जीपमा माथि यसप्रकारको ढुङ्गा प्रहार गर्ने कार्यले शान्ति सुरक्षा माथि चुनौति थपिएको बताए। उनले कांग्रेस समर्थक कार्यकर्ता बाहेक अन्य समूहले सो घटना घटाउन नसक्ने दाबीसमेत गरे।
एमाले उम्मेदवार तुलाचन सवार जीपमा माथि भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमूख रामहरी पाण्डेले बताए। उनले निर्वाचनको समय जिल्लाको शान्ति सुरक्षा मजबुत बनाईदै गरेको अवस्थामा अज्ञात समूहले एमाले उम्मेदवारको टोली चढ्ने जीपमा ढुङ्गा प्रहार भएको बताएको छ।
पाण्डेले ढुङ्गा प्रहार गर्ने समूहको खोजीकार्य भईरहेको जानकारी दिए ।गत स्थानीय निर्वाचनमा पनि मतगणना परिणाम सार्वजनिक भएपछि कांग्रेस बिजयी उम्मेदवार फेन्चोक छेप्तेन गुरुङ धाराको निजी पजेरो जीप माथि सोही गाउँपालिकाको खिङ्गा भन्ने स्थानमा यस्तै प्रकारको ढुङ्गा प्रहार भएको थियो ।