नेकपा एमालेले सत्तारुढ नेपाली कांग्रेसले सत्ताको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित तुल्याउने काम गरिरहेको आरोप लगाएको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सत्ताको दुरुपयोग गरेर सत्तारुढ कांग्रेस निर्वाचनलाई प्रभावित तुल्याउन लागि परिरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सरकार र सत्तारुढ कांग्रेसले सबैभन्दा बढी निर्वाचन आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोग चुप लागेर बसेको भन्दै आपत्ति पनि जनाए।
वरिष्ठ नेता खनालले निर्वाचन आचारसंहिता उल्लंघनको घटना हुन नदिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण समेत गराए। उनले निष्पक्ष निर्वाचन सम्पन्न गराउने दायित्व पूरा नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए।
वरिष्ठ नेता खनालले उम्मेदवारहरूमाथि भइरहेको आक्रमणमा सरकार आफैँको संलग्नता रहेको आशंका व्यक्त गरे।