राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेशको माग सम्बोधन गराउन मधेश सरकार आवश्यक रहेको बताएका छन्। महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार ठाकुरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्सापतैलीमा चुनावी सभालाई सम्बोधन गर्दै मधेशमा मधेश सरकार नबनेसम्म अधिकार सम्पन्न हुन नसक्ने दाबी गरेका हुन्।
उनले कागजमा रहेका मधेश राज्यको दर्जा तत्कालिन सरकारले दिएकाले मधेश राज्यलाई वैधानिकता दिन पनि मधेशी दललाई जिताउन आग्रह गरे।
उनले मधेशी जनतासँग काँगेस वाम गठबन्धनले मत लिने कार्य मात्र गरेको आरोप लगाउँदै मधेशी जनताले अब आफ्नो स्ववीवेक प्रयोग गरि मधेशवादी दलको पक्षमा मतदान गर्न अपिल गरे।
उनले मधेशका सबै मतदातालाई विशेष आग्रह गर्दै मधेशलाई अधिकार सम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालीको चुनावमा मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर सम्पूर्ण मधेशलाई मधेशीमय बनाउन आग्रह गरे।
संघीय प्रणाली, समानुपातिक प्रणाली, राष्ट्रिय पहिचान, संघीय गणतन्त्र तथा धर्म निरपेक्षताको मुद्दा मधेश आन्दोलनको उपलब्धि भएको र यसलाई समाप्त पार्न धेरै प्रयास भइरहेको भन्दै संघीयतालाई जोगाउन आफू हमेसा प्रयासरत रहेको पनि उनले बताए।