जिल्ला समन्वय समिति महोत्तरीको बुधबार सम्पन्न निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल गठबन्धन विजयी भएको छ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख पदमा राजपा नेपालका सुरेश प्रसाद सिंह १६ मत ल्याएर विजयी भएको बताए।
त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका संघीय समाजवादी फोरम नेपालका सुरेश यादव १८ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यहरूमा राजपा नेपालका पुनम देवी साह १७, ललिता कुमारी महासेठ १६ र रिता देवी १६ मत, अन्य सदस्यहरूमा राजपा नेपालकै सरयुग यादव २०, कामेश्वर साह १७ र सुदिप कुमार झा १७ मत, दलित वा अल्पसंख्यक सदस्यमा राजपा नेपालकै रामलखन पंजियार १७ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी, प्रमुख पदमा नेपाली कांग्रेसका कालिकान्त झाले ४ र नेकपा माओवादी केन्द्रका सूर्य नारायण साहले ८ मत पाएका थिए भने उपप्रमुखमा माओवादी केन्द्रका सुमिरा तिमल्सिनाले ८ मत पाएकी थिईन्। त्यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी रेखा कुमारीले ४ र माओवादी केन्द्रकी सरिता कुमारी साहले १२ मत पाएकी थिइन्।
अन्य सदस्यमा नेकाका रामजी यादवले ४, रामकिशोर यादवले ४, माओवादीका पुण्य प्रताप मण्डलले ७ र टीकाबहादुर बस्नेतले ७ मत पाएका थिए ।
दलित वा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रकी आशा देवी पासवानले ७ मत मात्र प्राप्त गरेकी थिईन्। जिसस महोत्तरीको निर्वाचनमा ९ पदका लागि जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाका गरी जम्मा ३० जना मतदाताले भोट खसालेकोमा २ वटा मत बदर भएको थियो ।