विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका ६ जना कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले दाङमा हालसम्म ६ जना विप्लवका कार्यकर्ता पक्राउ परेको जानकारी दिईन्। मंगलबारमात्रै दाङमा पाँच जना विप्लवका कार्यकर्ता पक्राउ गरिएको एसपी सिंहले बताईन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँबाट मंगलबार बेलुका एकैसाथ चारजना पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी सुधिरराज शाहीले बताए । तुलसीपुर नगर सेक्रेटरी रिमबहादुर विक, वडा नं. ३ का सेक्रेटरी चेतबहादुर विक, पार्टी सदस्यहरू दण्डबहादुर केसी र आकाश विकलाई पक्राउ गरिएको डिएसपी शाहीले बताए ।
मंगलबार नै घोराही उपमहानगरपालिका वडा नं. १० बाट मानबहादुर विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक निर्मल खत्रीले जानकारी दिए ।
त्यसअघि ईलाका प्रहरी कार्यालय खिलतपुरले बबई गाउँपालिका वडा नं. ५ निवासी निमबहादुर डाँगीलाई पक्राउ गरेको थियो । डाँगी नेकपाकाको बबई गाउँ पालिका सेक्रेटरी हुन् ।
गैर न्यायिक गिरफ्तारी रोक्न आग्रहयसैबीच नेपाल कम्यूनिष्ट पार्टी दाङका जिल्ला सेक्रेटरी सविनले आफ्ना कार्यकर्ताहरूको विरुद्ध भइरहेको गैर न्यायिक गिरफ्तारी तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् ।
विना कुनै सूचना मध्यरातमा पार्टी कार्यकर्ताको घर–घरमा पसेर गैर कानूनी तरिकाले घर खानतलासी गर्ने, घर परिवारका सदस्यलाई संकटकालमा जस्तै गरि डस, धम्की र त्रास दिने जस्ता कार्य तत्काल रोक्न सविनले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
उनले यस्ता हर्कत नदोहोर्याउन आग्रह गर्दै अन्यथा आफूहरू थप चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उल्लेख गरेका छन् । साथै उनले मानवअधिकारकर्मी, पत्रकार लगायतका संघ संस्थाहरूलाई अन्ययाका विरुद्ध सहयोग गर्न आग्रह गरेका छन् ।
शान्तिपूर्ण रुपमा घरमै बसेकाहरूलाई समेत मध्यरातमा घेरा हालेर पक्राउ गरेर लैजानुले लोकतन्त्रको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख छ। उनले आसन्न निर्वाचन बहिष्कारको आफ्नो पार्टीको अभियानमा साथ दिन अपिल पनि गरेका छन् ।