प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मंगलबार नेपालगंजमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन केन्द्रीत सुरक्षा चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा व्यवस्थामा विशेष रूपमा ध्यान दिई सुरक्षित र शान्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा चनाखो हुन पनि निर्देशन दिए। उनले निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि बम आक्रमण लगायतका घटना हुनुलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आक्रमणकारीलाई तुरुन्तै कारवाही गर्न सुरक्षा निकाय प्रमुखहरूलाई सचेत पनि गराए।
उम्मेदवारमाथि बम प्रहार गरी डर त्रास उत्पन्न गराउन खोज्नेलाई तुरुन्तै कारवाही गर्न सरकार दृढताका साथ लागिरहेको उनको भनाई थियो ।
निर्वाचनलाई भयरहित बनाउन सबैले आ/ आफ्नो क्षेत्रबाट लागि प्रधानमन्त्री देउवाले सुरक्षा निकाय र प्रशासनिक निकायका अधिकारीहरूलाई विशेष आग्रह गरे।
मंगलबार बिहान नेकपा एमालेका भोजपुर प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको थियो ।