नेकपा एमाले र नेकपा माओवादी केन्द्रका काठमाडौंका उम्मेदवारहरूले एक अर्कासँग परिचय गरेका छन्।
दुई दलबीच चुनावी तालमेल र गठबन्धन भएपनि उम्मेदवारहरूकै बीचमा परिचयको अभाव थियो। जसका कारण उम्मेदवारहरूले छुट्टाछुट्टै निर्वाचन परिचालन कमिटी समेत गठन गरेका थिए।
काठमाडौं महानगरपालिकाको पहलमा काठमाडौंका १० क्षेत्रकै प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवार जमलस्थित यल्लो प्यागोडा होटलमा भेला भएका हुन्।
नेकपा माओवादी केन्द्रका काठमाडौं संयोजक हिमाल शर्माले वाम गठबन्धन एक ठाउँमा नरहेको भन्ने हल्ला चिर्न कार्यक्रम गरेको बताए। 'चुनावी तालमेलले मतभेद छन् भनेर विरोधीले अगाडि बढेका छन्। बलियो राजनीतिक धरातलमा एउटा मिसन बोकेको गठबन्धन हो', शर्माले भने, 'साउने पानीको फोका जस्तो होइन।'
परिचयात्मक कार्यक्रममा एमाले वरिष्ट नेता माधवकुमार नेपालले विपक्षीहरूले साम, दाम, दण्ड, भेद र भ्रम फिजाउँने काम गर्ने भएकाले गठबन्धन एकजुट हुनुपर्ने बताए। 'आजसम्म वामपन्थीले बहुमत हासिल गर्न सकेको छैन। मौका आएको बेला त्यसो गरिएन भने पछुताउने बाहेक केही हुन्न', नेता नेपालले भने।
'पार्टी एकता गरेर अगाडि बढ्ने बेला आएको छ। हामी स्थिर सरकारको पक्षमा हामी जानेछौँ', नेता नेपालले भने, 'प्रतिपक्षीको चालबाज बुझ्नुपर्छ।'