नेपाल कम्युनिस्ट पार्टीका एकजना जिल्ला स्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी ३२ वर्षीय निमबहादुर डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरिक्षक निर्मल खत्रीले जानकारी दिए ।
पक्राउ परेका डाँगी नेकपाका राष्ट्रिय युवा जन स्वयम सेवकको जिल्ला उपाध्यक्ष रहेको खत्रीले बताए ।
ईलाका प्रहरी कार्यालय खिलतपुरले डाँगीलाई सोमबार राति ९ बजेपछि पक्राउ गरेको प्रहरीले बताएको छ। रुकुम र रोल्पामा माओवादीका शीर्ष नेताहरूलाई लक्षित गरी बम विस्फोट र गोली प्रहारका घटनाहरू भएपछि निर्वाचन सुरक्षाको लागि नेकपाका कार्यकर्ता पक्राउ गरिएको लागिएको प्रहरीले बताएको छ ।
रुकुम र रोल्पामा उम्मेदवारलाई लक्षित गरी गराइएका बम विस्फोट र गोली प्रहारका घटनाहरूमा विप्लवकै कार्यकर्ताको सम्लग्नता रहेको आरोप लाग्दै आएको छ । यता, उक्त पार्टीले भने अनाहकमा पक्राउ गरिएका आफ्ना कार्यकर्ता विना सर्त रिहा गर्न माग गर्दै आएको छ।
बम प्रहार र गोली प्रहारका घटना हुनुभन्दा पहिला नै प्रहरीले रुकुम , रोल्पा लगाएका जिल्लाहरूबाट विप्लवका जिल्ला तहका नेता र कार्यकर्ता पक्राउ गरेको थियो ।