नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमा लागेर गणतन्त्र ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएकाले जनताले खुशीसाथ मतदान गर्ने बताएका छन् ।
झापामा मङ्गलबार आयोजित एक कार्यक्रममा सिटौलाले गणतन्त्र ल्याउनका लागि रगत बगाएका सहिदको सम्मानका लागि पनि आफूलाई मतदान गर्नुपर्ने तर्क गरेका छन् ।
‘परिवर्तनको पक्षमा रहेको कुनैपनि मतदाताले मलाई छोडेर राप्रपाका उम्मेदवारलाई भोट हाल्नै सक्दैनन् । यो मेरो विश्वास हो ।’ सिटौलाले भने
जनआन्दोलनमा आफ्नो भूमिका कस्तो थियो? भन्ने कुरा मतदातालाई राम्रोसँग जानकारी भएको बताउँदै सिटौलाले त्यही आन्दोलन दबाउन शक्तिको दुरुपयोग गर्ने दलका नेतालाई जनताले भोट हाल्न नसक्ने दाबी गरे ।
संविधान निर्माणका साथै आफ्नो निर्वाचन क्षेत्रमा करीब साढे तीन अर्ब बजेट विकास निर्माणका लागि विनियोजन गरिएको जानकारी सिटौलाले दिए । भौतिकपूर्वाधार निर्माणका कामले पछिल्लो समय तीव्र गति लिएको दाबी गर्दै सिटौलाले थुप्रै आयोजनाहरू अघि बढाएको जानकारी दिए।
आफ्नो पहलमा सुरू भएका झापाका ठूला आयोजना अब डेढ वर्षभित्रमा निर्माण सम्पन्न हुने सिटौलाको दाबी छ ।
विगतको जनआन्दोलन र राजनीतिक यात्रालाई विर्सेर कसैले पनि राजनीति गर्न नहुने तर्क सिटौलाले गरेका छन् । जनआन्दोलनमा मारिएर सहिद बनेकाहरूको भावनालाई कुल्चेर अगाडि जान नसकिने सिटौलाको तर्क छ । ‘जनआन्दोलनको भावनालाई सम्झेर अगाडि बढ्ने हो। सहिदको सपनालाई विर्सेर कहिँ पुग्न सकिँदैन । इतिहासलाई विर्सन पाइँदैन।’ सिटौलाले भने ।