रौतहटमा चिसोसँगै चुनावी गतिबिधि तातिदै गएको छ। उम्मेदवारहरू मत माग्न मतदाताकहाँ जाने क्रम बढेको छ। रौतहटको उत्तरी भेग समेटिएको चार नम्बर क्षेत्रमा चुनावी चहल पहल बढेको छ।
उम्मेदवारसँग जनतालाई दिने विकासे खाका खासै नभए पनि आफूले चुनाव जितेमा चार नम्बर क्षेत्रको समग्र विकासका लागि पहल गर्ने भन्दै मतदातासम्म पुगेका छन्।
नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवप्रसाद तिमलसिना र बाम गठबन्धनका उम्मेद्वार बंशिधर मिश्र र राजपाका कन्तमुनि जयश्वालबीच टक्कर हुने देखिएको छ।
घोषणापत्र साथमा बोकेर जनतामा पुगेका उम्मेद्वारहरू आफूले जितेमा विकासको लहर ल्याउने दाबी गर्दै हिँडेका छन्। नेपाली कांग्रेसका उम्मेदवार तिमल्सिनाले आफ्नो जितलाई कसैले रोकेर रोक्न नसक्ने दाबी गरेका छन्। यता वाम गठबन्धनका नेता कार्यकर्ताहरू मिश्रलाई यसपाली चुनाव जित्न सहज हुने आँकलन गर्छन्।
रौतहटका जनतासँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै मिश्रले भने,‘म मधेशको छोरा हुँ, पहाडको ज्वाईँ हुँ, सारमा म सच्चा नेपाली हुँ, त्यसैले भोट मलाई नगइ कता जाला र,’ घरदैलो कार्यक्रममा मिश्रले भने।
दुर्गा खड्कासँग २०४४ साल फागुन २९ मा बिहे गरेका खड्का पहाड र मधेश जोड्ने हरेक हिसाबमा आफू तयार रहेको बताएका छन्।
‘म मधेश र पहाडलाई जोड्न रौतहट क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेको हुँ, मैले सच्चा राष्ट्रवाद र समृद्धिको रेखा कोर्ने कसम खाएको छु, मिश्रले भने।
रौतहट क्षेत्र नम्बर ४ मा पर्ने गाउँ र बस्तीहरुमा चुनावी अभियानसहित भेटघाटमा व्यस्त मिश्रलाई यही क्षेत्रका नागरिकले २०४८ सालमा जिताएर पठाएका उनलाई २०५६ सालमा तत्कालिन क्षेत्र नम्बर ३ बाट निर्वाचि भएर पठाए।
‘जनताको कामलाई महान ठान्छु,’ अर्का उम्मेदवार तिमल्सिना भन्छन्। २०४६ सालको जनआन्दोलनदेखि सकृय राजनीतिमा रहेका तिमल्सिना नेविसंघको राजनीतिहुँदै २०४८ सालमा डुमरीया गाउँ सभापति भए। क्षेत्रिय सभापति समेत भएका उनी महाधिवेशन प्रतिनिधि हुन्।
४८ वर्षिय तिमल्सिना २०७० सालको संविधान सभाको निर्वाचनमा थोरै मतले पराजित भएका थिए। ‘विकासमा अझै यो क्षेत्र पछाडि परेको छ, धेरै विकासका काम गर्नुपर्ने अवस्था छ,’ मंगलबार घर दैलो कार्यक्रममा पुगेका उनले पुराना प्रतिवद्धता दोहोर्याए।
‘चुनावमा नेताहरुले नजितुन्जेल सबै काम गर्छु भन्ने तर जिते पछि नमस्कारसम्म नगर्ने परीपाठी नेताहरुमा देखियो। यस्तो प्रवृत्तिको अन्त्यकै लागि मैले उम्मेद्वारी दिएको हुँ,’ उनले भने।
जनतालाई सर्पोपरी ठानेर शिक्षा, स्वास्थ्य, खानेपानी, सडक , रोजगारी , कृषि क्षेत्रको विकास लगायतको सवै कार्यलाई अगाडि बढाउने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए।
‘आम मतदातालाई गठबन्धनको चुनौती छैन, मलाई माया गर्ने मतदातालाई गठबन्धनले प्रभाव पार्दैन। म सामान्य किसान परिवारबाट यहाँसम्म आइपुगेको व्यक्ति हुँ मेरो बारेमा सबैलाई खुलस्त थाहा छ। जनताको विश्वास जितेको छु जस्तो लाग्छ,’ उनले भने, ‘चार नम्बर क्षेत्रका जनता मलाई जिताउन उत्साहित छन् भन्नेमा पनि विश्वस्त छु। त्यो गठबन्धन भनेको ठूला नेताहरू सुरक्षित हुनको लागि मात्रै बनाइएको हो जस्तो मलाई लाग्छ।’
यता समग्र २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने भन्दै उम्मेद्वारी दिएको राजपाले रौतहट चारका लागि जयश्वाल उठाएको छ। ‘मेरो क्षेत्रको जनलहर हेर्दा मलाई लाग्यो साच्चीको हामी दुई नम्बरमा पहिलो पार्टी हुनेछौ,’ जयश्वालले भने। ‘मतदातासम्म पुग्दा नेताहरुले विगतमा अशक्त, अपांग, एकल महिला, ज्येष्ठ नागरिकको पक्षमा राजपाले गरेको कामको चर्चा सर्वसाधारणले नै गरेको देख्दा गौरव लागेको छ,’ उनले भने।
रौतहटबाट २ पटक सभासद भइसकेका मिश्र र कांग्रेसको तल्लोस्तरको राजनीतिबाट उदाउँदै गरेका तिमल्सिनाबीच कडा प्रतिशर्पधा हुने देखिएको छ।
यता जनता भने आफूलाई सुख दुःखमा साथ दिने एक ईमान्दार जनप्रतिनिधी छान्ने बताउँछन्। विनाशकारी बढीको चपेटाले पिल्सिएको रौतहट बासीले कसलाई जिताएर पठाउँछन् त्यो हेर्न बाँकी छ।