संघीय समाजवादी फोरमले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
सोमबार राजधानीमा सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधन पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरिएको छ।
फोरमले कांग्रेस र एमालेका कारण संविधान संशोधन हुन नसकेको भन्दै उनीहरू पहिचानविरोधी र यथास्थितिवादी भएको आरोप लगाएको छ।
कांग्रेस सैद्दान्तिक रूपमा लोकतान्त्रिक समाजवादी भएपनि राजनीतिक रूपमा यथास्थितिवादी भएको एमाले नाममात्रको कम्युनिष्ट भएको घोषणापत्रमा उल्लेख छ। फोरमले चुनावी तालमेल गरेको अर्को मधेशवादी दललाई राष्ट्रिय जनता पार्टीलाई विगतमा जनसंघर्षभन्दा पनि सत्ताप्राप्तिमा केन्द्रीत भएको आरोप लगाएको छ।
‘हाल हाम्रो पार्टीले यसपार्टीसँग प्रदेश नम्बर २ मा चुनावी तालमेल गरी निर्वाचन लडेको छ। यसले २ नम्बर प्रदेशमा हाम्रो सरकार बन्ने सम्भावनालाई निकट ल्याएको छ,’ घोषणापत्रमा भनिएको छ।
फोरमले घोषणापत्रमा प्रस्तावित पूर्वपश्चिम रेलमार्गको डिपिआर तयार गरी ५ वर्षमा काम अघि बढाउने राजधानीको चक्रपथलाई पाँच वर्षभित्र ८ लेनको बनाउने उल्लेख गरेको छ। ‘चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग बनाउने’ घोषणा पत्रमा उल्लेख छ।