एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धन भत्काउन विदेशीहरूले चलखेल गरिरहेको बताएका छन् । काठमाडौं–२ को थलीमा सोमबार आयोजित वाम गठबन्धनको संयुक्त चुनाव तयारी भेलामा नेपालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुटाउन विदेशीहरूले चलखेल गरिरहेको दाबी गरेका हुन्।
‘५ वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्तिहरू दैनिक गठबन्धन टुटाउन सक्रिय देखिएका छन्,’ नेपालले भने, ‘तर हामी सबै चलखेल परास्त गरेर चुनाव सकिएलगत्तै एकीकरण प्रक्रियालाई पूर्णता दिन्छौं।’
वामपन्थी एकताबाट अत्तालिएको कांग्रेसले गोयबल्स शैलीमा अधिनयाकवाद आउने भ्रमपूर्ण प्रचार गरिरहेको बताउँदै नेपालले आक्रमक बनेर प्रतिवाद गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘आफ्नै बहुमतको सरकार चलाउन नसक्ने कांग्रेसले देशलाई स्थिरतातर्फ लैजाने वामपन्थीहरूको एकताबाट अधिनायकवाद आउने बेतुकको हल्ला चलाउनुको कुनै अर्थ छैन’, नेपालले भने ।
नेपालको क्षेत्रमा २ हजार २ सय २२ सदस्यीय प्रचार कमिटीसोमबारको भेलाले काठमाडौं २ मा २ हजार २ सय २२ सदस्यीय संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरेको छ।
कमिटीमा प्रतिनिधिसभामा एमालेकातर्फबाट समानुपातिकतर्फकी उम्मेदवार सरिता न्यौपाने संयोजक तथा माओवादी केन्द्रका नेता प्रकाश गौतम इन्चार्ज छन्।
सन् २०२२ सम्मका लागि नेपालसहितका उम्मेदवारलाई जिताउने संकल्पसहित त्यही संख्यामा संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए ।