नेपाल सरकारले चीनद्वारा अघि सारिएको ‘वान बेल्ट वान रोड’ अवधारणाले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ।
अर्थ सचिव शंकरप्रसाद अधिकारीले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणाले नेपालको व्यापार र लगानीमा उल्लेख्य वृद्धि हुने बताए।
सोमबार काठमाडौंमा आयोजित ‘वान बेल्ट वान रोड’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चीनले नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरूबीचको सम्बन्धलाई अझै सहज बनाउने गरी अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणा छिट्टै कार्यान्वयनमा लैजान नेपाल सरकार प्रतिबद्ध रहेको बताए।
अर्थ सचिव अधिकारीले नेपाल छिट्टै राजनीतिक संक्रमणलाई टुंग्याएर दिगो आर्थिक विकासको दिशामा केन्द्रीत भइरहेको उल्लेख गरे। सचिव अधिकारीले चीनले नेपालको पूर्वाधार विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए।